काठमाडौं – सोलुखुम्बुमा पहिरो खसेपछि हुङ्गु खोला थुनिएको छ । महाकुलुङ गाउँपालिका–२ र ४ को सीमाक्षेत्रमा शुक्रबार बिहान पहिरो खस्दा खोलाको बहाव रोकिएर कृत्रिम ताल बनेको हो ।


ADVERTISEMENT


गौरीशंकर हाइड्रोपावरको मुख्य कार्यालयबाट करिब एक सय मिटर तल करिब ३५ मिटर अग्लो पहिरो खसेपछि खोलामा झण्डै एक सय मिटर लामो र १५ मिटर गहिरो पानी जमेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


पहिरोले खोला थुनेर बनेको अस्थायी बाँधमाथिबाट भने अहिले पानी विस्तारै बग्न थालेको छ । यसले तत्काल ठूलो जोखिम नरहेको प्रहरीको भनाइ छ । तर, कृत्रिम बाँध जुनसुकै बेला फुट्न सक्ने सम्भावना कायमै रहेकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले नदी किनारमा रहेका बस्ती तथा आसपासका दुईवटा जलविद्युत् आयोजनालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

कृत्रिम बाँध फुटेमा हुङ्गु खोलाको पानी तल्लो तटीय क्षेत्र हुँदै सोताङ र थुलुङ दूधकोशी गाउँपालिका प्रभावित पार्दै खोटाङ र ओखलढुङ्गासम्म पुग्ने दूधकोशी नदीमा समेत असर पर्न सक्ने आकलन गरिएको छ ।

प्रहरीका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय बुङबाट करिब १० किलोमिटर दक्षिण–पूर्वमा पर्छ । माथिबाट पानीको निकास सुरु भएकाले जोखिम केही घटेको देखिए पनि अवस्था पूर्ण रूपमा सुरक्षित भने भइसकेको छैन ।