काठमाडौं- पछिल्लो समय आएको भीषण बाढीका कारण कृष्णभीरको बाटो कटान भई राजधानी जोड्ने सडक अवरुद्ध हुँदा उपत्यकामा ग्यास आपूर्ति प्रणालीमा समस्या देखिएको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ।
महासंघले विषम परिस्थितिमा आम उपभोक्तालाई अत्यावश्यक वस्तुका रूपमा रहेको खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउनु सरकार, ग्यास उद्योगी तथा बिक्रेताहरूको मुख्य दायित्व भएको जनाएको छ। आपूर्ति प्रणाली सुचारु राख्न सबै पक्षले हरसम्भव प्रयास गर्नुपर्ने महासंघको भनाइ छ।
महासंघले कठिन परिस्थितिको फाइदा उठाउँदै उपभोक्तालाई अनुचित मूल्य लिई खाना पकाउने ग्याससहित अन्य उपभोग्य वस्तु बिक्री नगर्न व्यवसायीहरूलाई आग्रह गरेको छ। आम बिक्रेतालाई प्राप्त भएको ग्यास वास्तविक समस्यामा परेका उपभोक्तालाई प्राथमिकताका आधारमा बिक्री–वितरण गर्न पनि अनुरोध गरिएको छ।
त्यस्तै, सरकारले तोकेको बिक्री दरभन्दा बढी मूल्यमा ग्यास बिक्री गरी अनुचित लाभ लिने जो–कोहीलाई कानुनी कारबाही गर्न महासंघले सरकारसँग जोडदार माग गरेको छ।
































































