काठमाडौं – देश गम्भीर संकट र विपद्को अवस्थामा रहेको भन्दै नेपाली कांग्रेसका विभिन्न नेताहरूले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी सम्पूर्ण एकताका साथ अघि बढ्न अपिल गरेका छन् । सभापति गगनकुमार थापाकै उपस्थितिमा शेरबहादुर देउवा पक्षका नेताहरू सहितका नेताहरू सम्मिलित ललितपुरमा बसेकाे बैठकले कांग्रेसलाई एक बनाएर लाने ढाेका खाेल्ने अभियान सुरू गरेकाे हाे ।


ADVERTISEMENT


‘पार्टीको सम्पूर्ण एकताका लागि अपिल’ शीर्षकमा जारी प्रेस विज्ञप्तिमा राजनीतिक अवस्था तरल र चुनौतीपूर्ण बन्दै गएको तथा सरकार र राजनीतिक दलहरूप्रति जनविश्वास कमजोर हुँदै गएको उल्लेख गरिएको छ । यस्तो अवस्थामा राजनीतिक प्रणाली र संस्थालाई बलियो बनाउन तथा देशको राष्ट्रियता, लोकतन्त्र र संविधानको संरक्षणका लागि प्रमुख राजनीतिक शक्तिहरू थप जिम्मेवार र एकताबद्ध हुनुपर्नेमा जोड दिइएको छ ।


ADVERTISEMENT

# # #


विज्ञप्तिमा नेपालको हरेक संकटमा नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै अहिले पार्टीभित्र देखिएको विवादले राष्ट्रिय राजनीतिमा सही दिशा दिन कठिनाइ उत्पन्न गरेको दाबी गरिएको छ। कांग्रेसभित्रको विवाद र विभाजनले राष्ट्र र लोकतन्त्रको हित नगर्ने भन्दै आन्तरिक मतभेदलाई संवाद र सहमतिबाट समाधान गर्न आग्रह गरिएको छ ।

नेपालको राजनीतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको प्रभावसमेत संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै विज्ञप्तिमा राष्ट्रियता, लोकतन्त्र र संविधानलाई जोगाउँदै समृद्ध तथा सबल राष्ट्र निर्माण गर्न कांग्रेसको भूमिका अझ महत्वपूर्ण बनेको बताइएको छ ।

विज्ञप्तिमा पछिल्लो महाधिवेशनको संघारमा भएका विशेष महाधिवेशनलगायतका घटनाबाट पार्टीले धेरै अनुभव प्राप्त गरेको उल्लेख छ। ती अनुभवबाट पाठ सिक्दै विगतका विवाद र मतभेदलाई बोकेर बस्न नहुने तथा पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

त्यसका लागि कांग्रेसको शीर्ष नेतृत्व पंक्तिले एक ठाउँमा बसेर गहन छलफल गरी साझा निष्कर्ष निकाल्नुपर्ने र व्यक्तिगत स्वार्थ, आग्रह तथा अहंकारभन्दा पार्टीको बृहत्तर हितलाई केन्द्रमा राख्नुपर्ने अपिल गरिएको छ। विज्ञप्तिमा विवादको तत्काल निकास खोज्न र संवादमार्फत समाधानमा पुग्न विशेष आग्रह गरिएको छ ।

त्यस्तै, आगामी १५औँ महाधिवेशनमा कांग्रेसका सबै सदस्य सहभागी हुन सक्ने वातावरण निर्माण गर्दै पार्टीको सबल नेतृत्व चयन र स्पष्ट राजनीतिक दिशा तय गर्नुपर्ने उल्लेख गरिएको छ।

पार्टी सभापति गगन थापाको भूमिकालाई समेत विशेष महत्वपूर्ण रहेको भन्दै वर्तमान परिस्थितिमा नेतृत्वले पार्टी एकताका लागि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने संकेत गरिएको छ ।

विज्ञप्तिमा पार्टी सभापति निर्वाचनसँग सम्बन्धित दुवै पक्षबाट जारी गरिएका वक्तव्यलाई ध्यानमा राख्दै यथाशीघ्र पार्टीको सम्पूर्ण एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न विशेष आग्रह गरिएको छ ।

अन्त्यमा देश संकटमा रहेको संवेदनशील घडीमा नेपाली कांग्रेसका सबै पक्षबीच संवाद, सहमति र सहकार्यका माध्यमबाट तत्काल विवाद समाधान गरी पार्टीलाई एक ढिक्का बनाउन र राष्ट्रिय चुनौतीहरूको सामना गर्न सक्ने सबल, एकताबद्ध र शक्तिशाली नेपाली कांग्रेस निर्माणमा जुट्न अपिल गरिएको छ ।