काठमाडौं-भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा घरबारविहीन परिवारको राहत र पुनर्स्थापनाका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरूले ४० लाख ८० हजार ५०५ रुपैयाँ सहयोग गरेका छन्।
विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। संकलित सहयोग रकमको चेक प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्रीलाई हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ।
प्रभु बैंकले यसअघि पनि बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले १०० थान टेन्ट र १०० थान स्लीपिङ ब्याग नुवाकोट जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराएको थियो। बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न तथा पुनर्स्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले बैंकले विभिन्न माध्यमबाट सहयोग गर्दै आएको जनाएको छ।
यसैगरी, प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरिसकेको जनाएको छ। बैंकले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को कठिन घडीमा प्रभावित नागरिक तथा समुदायको उद्धार, राहत र पुनर्स्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रभु बैंकले जनाएको छ।
































































