मकवानपुर- नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्माण व्यवसायीहरू राजनीतिक आस्थाका आधारमा विभाजित नभई व्यवसायिक हकहित र साझा मुद्दामा एकजुट हुनुपर्ने बताएका छन्।
मकवानपुर निर्माण व्यवसायी संघको अधिवेशनलाई सम्बोधन गर्दै सभापति बानियाँले संघीय लोकतान्त्रिक व्यवस्थामा तीन तहका सरकारको आ–आफ्नै भूमिका रहेको उल्लेख गर्दै केन्द्र सरकारले नीति निर्माण गर्ने, प्रदेश र स्थानीय सरकारले जनतालाई सेवा–सुविधा प्रदान गर्दै आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने बताए।
उनले निर्माण व्यवसायी जुनसुकै राजनीतिक दलसँग आबद्ध भए पनि व्यवसायको मूल धर्म व्यवसाय सञ्चालन गर्नु, रोजगारी सिर्जना गर्नु र आर्थिक गतिविधिलाई अघि बढाउनु रहेको बताए। कांग्रेस, एमाले, माओवादी, रास्वपालगायत जुनसुकै राजनीतिक आस्था भए पनि चुनावका बेला आफ्नो राजनीतिक अधिकार प्रयोग गरेपछि व्यवसायिक विषयमा भने सबै एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो।
“देश राम्रोसँग चल्यो भने कुन पार्टीले चलायो भन्नेभन्दा पनि जनता खुसी र सुखी हुन पाउनुपर्छ,” बानियाँले भने। उनले भ्रम, झुट र निराशाभन्दा सत्य, इमानदारी र जिम्मेवारीको बाटोबाट अघि बढ्नुपर्नेमा जोड दिए।
निर्माण क्षेत्रमा आफूले पनि लामो समय काम गरेको स्मरण गर्दै बानियाँले व्यवसायीहरूले विभिन्न आरोह–अवरोह र आर्थिक समस्याहरू भोग्नुपरेको बताए। निर्माण व्यवसायीहरूका समस्या समाधान गर्न राज्यले स्पष्ट नीति तथा व्यवहारिक व्यवस्था गर्नुपर्ने उनको धारणा थियो।
बानियाँले निर्माण व्यवसायीहरूले आफ्नै संरक्षण तथा कल्याणकारी कोष स्थापना गर्नुपर्ने प्रस्तावसमेत अघि सारे। व्यवसायी वा उनीहरूको परिवारमा कुनै समस्या आइपरेमा उपचार, शिक्षा तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउन सकिने गरी कोष निर्माण गर्नुपर्ने उनले बताए।
आफू सरकारमा रहँदा सामाजिक सुरक्षा कोष निर्माणमा भूमिका खेलेको उल्लेख गर्दै उनले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले श्रमिक तथा कर्मचारीलाई उपचारदेखि पेन्सनसम्मको सुरक्षा प्रदान गर्ने बताए।
उनले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न नसकेका विद्यार्थीलाई आफूले व्यक्तिगत रूपमा समेत सहयोग गरेको उदाहरण प्रस्तुत गरे। विपन्न विद्यार्थीले डाक्टर, इन्जिनियरलगायतका विषय अध्ययन गर्न चाहँदा आर्थिक अभावकै कारण पढाइ रोक्नुपर्ने अवस्था अन्त्य गर्न समाज र सम्बन्धित संस्थाहरूले सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
निर्माण व्यवसायीहरूको एकता, व्यवसायिक सुरक्षा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अघि बढ्न आग्रह गर्दै बानियाँले मकवानपुर निर्माण व्यवसायी संघको अधिवेशन सफलताको शुभकामना व्यक्त गरे।
































































