काठमाडौं – विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन २२ करोडभन्दा बढी रकम थपिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबारको तुलनामा बिहीबार कोषमा २२ करोड ७५ लाख ३८ हजार ३३१ रुपैयाँ थपिएको हो।
बिहीबार साँझसम्म कोषका नौवटा बैंक खातामा १० अर्ब ८९ करोड ६६ लाख ६२ हजार २७७ रुपैयाँ मौज्दात रहेको छ। यस्तै, दुईवटा बैंकमा रहेका डलर खातामा २ करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
सबै खातामा रहेको रकम जोड्दा कोषको कुल मौज्दात १४ अर्ब ५६ करोड ३८ लाख ७ हजार ५५६ रुपैयाँ पुगेको छ। यसैबीच, रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा भइसकेको छ।
सरकारले रसुवाका बाढीप्रभावित परिवारलाई आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ।































































