काठमाडौं – मुक्तिनाथ विकास बैंकले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ग्राहकका लागि विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ।


ADVERTISEMENT


बैंकका अनुसार योजनाअन्तर्गत ग्राहकले आधार दरमा ०.२५ प्रतिशत थप ब्याजदरमा घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा प्राप्त गर्न सक्नेछन्।


ADVERTISEMENT

# # #


यस योजनामा घरजग्गाको मूल्याङ्कनको अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराइनेछ। पहिलो पटक घर खरिद गर्ने ग्राहकका लागि भने मूल्याङ्कनको अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।

चाडपर्वको समयमा आफ्नै घर बनाउने वा खरिद गर्ने योजना बनाएका ग्राहकलाई सहज वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएको छ। विशेष घर कर्जा योजना २०८३ साल कात्तिक मसान्तसम्म लागू हुनेछ। त्यसपछि बैंकको प्रचलित ब्याजदर तथा सम्बन्धित कर्जा शर्तहरू लागू हुनेछन्।

बैंकले यो सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखाबाट उपलब्ध गराउने जनाएको छ। ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी योजनासम्बन्धी थप जानकारी तथा कर्जा प्रक्रियाबारे जानकारी लिन सक्नेछन्। यससँगै बैंकले अटो लोन तथा कृषि एवं एसएमई व्यवसाय कर्जाका विशेष योजनासमेत सञ्चालनमा ल्याएको जनाएको छ।

बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार योजनाले घर निर्माण वा खरिद गर्न चाहने ग्राहकलाई प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा लिन सहयोग पुग्नेछ।