काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्वपछि सरकारका गलत कदमविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।


ADVERTISEMENT


शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ भनिएको सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको आरोप लगाएका छन्।


ADVERTISEMENT

# # #


उनले संसद्भित्र रहेका प्रतिपक्षी दलहरूलाई एकताबद्ध गर्दै सडकमा सुकुम्बासी, मजदुर, किसा`न, विद्यार्थी तथा ट्रेड युनियनहरूलाई समेत समेटेर चाडपर्वपछि सरकारविरुद्ध संयुक्त मोर्चा र आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

देशमा उत्पन्न राजनीतिक चुनौती, वैदेशिक हस्तक्षेप र प्रतिगमनको खतरा सामना गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूको व्यापक एकता र ध्रुवीकरण आवश्यक रहेको उनले बताएका छन्।

भदौ २४ गतेको घटनापछि कम्युनिस्टहरूबीच ढिला नगरी नयाँ शिराबाट एकता प्रक्रिया अघि बढाउन नेतृत्वलाई दबाब र ऊर्जा मिलेको प्रचण्डको भनाइ थियो। पुराना पार्टी र नेताहरूले विगत ३५ वर्षमा केही नगरेको भन्ने भाष्यको खण्डन गर्दै उहाँले आफ्नै नेतृत्वमा भएका प्रमुख विकास तथा पूर्वाधारका कामहरूको धारणा राखेका छन्।

नेपालको आर्थिक विकास र औद्योगिकीकरणको मुख्य जग कृषि रहेको भन्दै प्रचण्डले कृषिको आधुनिकीकरण र व्यवसायीकरण आवश्यक रहेको बताएका छन्।

कार्यक्रममा नेकपाका सह–संयोजक माधवकुमार नेपालले देश अहिले ठूलो संकटमा रहेको र विदेशीहरूको विभिन्न चलखेलका कारण राष्ट्रियता जोखिममा परेको उल्लेख गरेका छन्। दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको नेपाल विदेशीहरूको खेलमैदान बन्न नहुने उनको भनाई छ। उनले वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्दै चुनौतीको सामना गर्न पार्टी अघि बढ्ने दृढता व्यक्त गरेका छन्।

त्यस्तै, कृषि क्रान्ति र आधुनिकीकरणमार्फत देशको कायापलट गर्न कृषि अर्थतन्त्रलाई मजबुत बनाउनुपर्नेमा जोड दिइएको छ। यसका लागि कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरण आवश्यक रहेको बताइएको छ।