काठमाडौं- नयाँ व्यवसाय सुरु गर्ने तर त्यसलाई दिगो रूपमा सञ्चालन तथा विस्तार गर्न नसकिरहेका नेपाली उद्यमीलाई लक्षित गर्दै नेपाल चेम्बर अफ कमर्स र बृहत् प्रेनर्सले सहकार्य सुरु गरेका छन्।


ADVERTISEMENT


‘उद्यमी संलग्नता कार्यक्रम’ नाम दिइएको उक्त कार्यक्रमअन्तर्गत स्टार्टअप तथा सञ्चालनमा रहेका व्यवसायलाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी र बजारसँग जोड्दै विस्तारको चरणसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।


ADVERTISEMENT

# # #


भृकुटीमण्डपमा जारी ‘नवौँ नेपाल ल्याण्ड एन्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो–२०२६’ का अवसरमा चेम्बर र बृहत् प्रेनर्सबीच औपचारिक सहकार्य घोषणा गरिएको हो। ‘नेपालमा व्यवसाय निर्माण : सुरुवातदेखि विस्तारसम्म’ भन्ने अवधारणासहित कार्यक्रम सुरु गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले नेपालमा व्यावसायिक सम्भावना भए पनि त्यसलाई व्यवहारिक व्यवसायमा रूपान्तरण गर्न संरचना, मार्गदर्शन र बजार पहुँचको कमी चुनौतीका रूपमा रहेको बताएका थिए। नयाँ उद्यमीले व्यवसाय सुरु गरेपछि कानुनी, वित्तीय, व्यवस्थापकीय तथा बजारसम्बन्धी विषयमा समयमै सही परामर्श नपाउँदा जोखिम बढ्ने उनीहरूको भनाइ थियो।

बृहत् प्रेनर्सले आफूलाई परम्परागत इन्क्युबेटरको सीमाभन्दा बाहिर ‘बजार लाइफस्टाइल भेन्चर स्टुडियो’का रूपमा अघि बढाउने जनाएको छ। स्पष्टता, संरचना र सही दिशालाई आधार बनाएर उद्यमीलाई व्यवसाय सुरुदेखि विस्तारसम्म सहयोग गर्ने उसको योजना छ।

कार्यक्रमअन्तर्गत उद्यमीलाई पाँच प्रमुख क्षेत्रमा सहयोग गर्ने योजना अघि सारिएको छ। पहिलो चरणमा ‘एक्जिक्युसन हब’मार्फत व्यावसायिक विचारलाई कार्यान्वयनमा लैजान सहयोग गरिनेछ। त्यस्तै, ‘एक्सपर्ट्स क्लिनिक्स’मार्फत कानुन, वित्त, लगानी र बजार व्यवस्थापनका क्षेत्रमा विशेषज्ञ परामर्श उपलब्ध गराइनेछ।

उद्यमीलाई परियोजना, सम्भावित साझेदार तथा बजारका अवसरसँग जोड्न ‘अपर्चुनिटी एक्सचेन्ज सिस्टम’ विकास गरिनेछ। कानुनी फर्म, चार्टर्ड एकाउन्टेन्ट, ब्रान्डिङ एजेन्सी तथा लगानी विश्लेषक लगायतका सेवा प्रदायकलाई एउटै इकोसिस्टममा जोडेर आवश्यक सेवा सहज रूपमा उपलब्ध गराउने योजना पनि रहेको छ।

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ प्रधानले उद्यमशीलतालाई आर्थिक स्वतन्त्रतासँग जोडेर हेर्नुपर्ने बताउनुभयो। उहाँले युवाहरू तथा महिलालाई उद्यमशीलतामा जोड्न सके रोजगारी र आर्थिक गतिविधि विस्तारमा योगदान पुग्ने धारणा राख्नुभयो।

बृहत् प्रेनर्सकी निर्देशक पूर्णिमा राजभण्डारीले व्यवसायमा सही समयमा प्राप्त हुने मार्गदर्शनले सम्भावित आर्थिक जोखिम घटाउन सक्ने बताउनुभयो। उहाँका अनुसार उद्यमीले कम जोखिममा व्यवसाय अघि बढाउन सके लगानीकर्ता तथा साझेदारले समेत प्रतिफल प्राप्त गर्ने र दीर्घकालीन रूपमा अर्थतन्त्रमा मूल्य सिर्जना हुने अवस्था बन्न सक्छ।

कार्यक्रम काठमाडौंमा मात्र सीमित नराखी देशका पाँच प्रमुख सहरमा विस्तार गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। ती सहरमा कम्तीमा ३०० भन्दा बढी उद्यमीलाई प्रत्यक्ष रूपमा जोड्ने र १ हजारभन्दा बढी रोजगारी सिर्जनामा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

कार्यक्रमअन्तर्गत व्यवसायको अवस्था पहिचान गर्न ‘बिजनेस हेल्थ चेकअप’ तथा व्यवसायको क्षमता र वृद्धि योजनामा केन्द्रित दुईदिने ‘बिजनेस ग्रोथ इन्क्युबेसन’ कार्यक्रम सञ्चालन गरिनेछ। उद्यमीको अवस्थाअनुसार ‘आइडिया फेज’, ‘ग्रोथ सिकर्स’ र ‘स्केल उद्यमी’ गरी तीन तहमा सदस्यता योजना बनाइएको छ।

आयोजकका अनुसार नयाँ व्यवसायको संख्या बढाउनु मात्रै पर्याप्त नभई सुरु भएका व्यवसायलाई टिकाउ, व्यवस्थित र विस्तारयोग्य बनाउनु अहिलेको मुख्य चुनौती हो। यही चुनौतीलाई सम्बोधन गर्न व्यवसाय सुरु गर्न चाहने युवादेखि सञ्चालनमा रहेका उद्यमीलाई आवश्यक सेवा, परामर्श र व्यावसायिक अवसरसँग जोड्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो।