काठमाडौँ – नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकलाई सहज रूपमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)बीच साझेदारी भएको छ।


ADVERTISEMENT


नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।


ADVERTISEMENT

# # #


समझदारीअनुसार नेपाल भ्रमणमा आउने पर्यटकले आफ्नो यात्राका क्रममा परिवार, साथीभाइ तथा अन्य व्यक्तिसँग सहज रूपमा सम्पर्कमा रहन सक्नेछन्। नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा यात्रा गर्दा आवश्यक पर्ने सञ्चार सेवामा पहुँच सहज बनाउने साझेदारीको उद्देश्य रहेको छ।

साझेदारीअन्तर्गत एनसेलले पर्यटकलाई मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ। नाटोले भने देशभर रहेका आफ्ना ट्राभल अपरेटरहरूको सञ्जालमार्फत पर्यटकलाई एनसेलका सेवा तथा सुविधाबारे जानकारी उपलब्ध गराउनेछ।

कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले एनसेलको देशव्यापी नेटवर्क र नाटोको पर्यटन क्षेत्रमा रहेको पहुँचलाई उपयोग गर्दै सहकार्यले नेपाल आउने पर्यटकको यात्रा अनुभव सहज बनाउन सहयोग पुग्ने बताए।

उनका अनुसार सहकार्यले ‘नेपाल कलिङ’ अभियानलाई प्रवर्द्धन गर्नुका साथै नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नसमेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले पर्यटन मानिस, संस्कृति र अनुभवलाई जोड्ने माध्यम भएको उल्लेख गर्दै पर्यटकलाई यात्राभर सम्पर्कमा रहन सहयोग गर्ने एनसेलसँगको सहकार्य अर्थपूर्ण रहेको बताए।

यसैगरी, एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेल फाउन्डेसनमार्फत नाटोलाई प्रमुख राजमार्गहरूमा आधुनिक WASH (सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधार स्थापना गर्न सहयोग गर्ने भएको छ।

उक्त परियोजनाको सुरुवात धादिङको गजुरीबाट पाइलट परियोजनाका रूपमा गरिनेछ। यसबाट प्रमुख राजमार्गमा यात्रा गर्ने पर्यटकसँगै स्थानीय समुदायलाई समेत सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताको सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

एनसेल र नाटोबीचको यो सहकार्यले दूरसञ्चार सेवा विस्तारसँगै नेपालमा दिगो तथा जिम्मेवार पर्यटन विकासलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।