काठमाडौं – गत वर्षको आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपरमार्केटको टंगाल शाखा लामो पुनर्निर्माणपछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ।


ADVERTISEMENT


आज बिहान १० बजेदेखि ग्राहकका लागि स्टोर खुला गरिएको हो। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले स्टोरको पुनः शुभारम्भ गरेका हुन्। उनका अनुसार आन्दोलनका क्रममा देशभरका १२ वटा शाखामा क्षति पुगेको थियो। तीमध्ये टंगालसहित १० वटा शाखा पुनः सञ्चालनमा आइसकेका छन् भने दमक र हेटौंडा शाखा पनि पुनर्निर्माणको अन्तिम चरणमा छन्।


ADVERTISEMENT

# # #


पुनर्निर्माणपछि टंगाल शाखा सञ्चालनमा आएलगत्तै ग्राहकको उल्लेख्य भीड लागेको थियो। लामो समयदेखि नियमित किनमेल गर्ने स्टोर बन्द हुँदा असहजता भोग्दै आएका ग्राहकले पुनः सञ्चालनमा आएपछि खुसी व्यक्त गरेका छन्।

गुरुङले भाटभटेनीलाई आफ्नो व्यक्तिगत व्यवसाय मात्र नभई रोजगारी र राजस्वसँग जोडिएको देशकै सम्पत्तिका रूपमा व्याख्या गरेका छन्। उनले भत्काउन र बिगार्नभन्दा पुनः निर्माण गर्न धेरै कठिन हुने भन्दै आफूहरूले चुनौतीका रूपमा लिएर स्टोरलाई पुनः उभ्याएको बताए।

उनले नेपालमै व्यवसाय गर्ने र देशको विकासमा निजी क्षेत्रले योगदान गरिरहने प्रतिबद्धता व्यक्त गर्दै निजी क्षेत्रका सम्पत्ति तथा व्यवसायको सुरक्षामा राज्यले ध्यान दिनुपर्ने बताएका छन्। ४२ वर्षअघि सानो भाडाको कोठाबाट सुरु भएको व्यवसाय आज देशभर फैलिएको स्मरण गर्दै गुरुङले कठिन परिस्थितिबाट पनि पुनः उठ्न सकिने सन्देश टंगाल शाखाको पुनः सञ्चालनले दिएको बताए।

स्टोर पुनः सञ्चालनमा आएपछि ग्राहकले आधुनिक सेवा, विभिन्न सामग्री तथा गुणस्तरीय किनमेलको सुविधा निरन्तर पाउने कम्पनीले जनाएको छ।