काठमाडौं- राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई अघि बढाउने प्रक्रिया थप अगाडि बढेको छ। विधेयकसम्बन्धी प्रतिवेदनको मस्यौदा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रस्तुत गरिएको हो।
मंगलबार बसेको समितिको बैठकमा समिति सचिव दशरथ धमलाले तयार पारिएको मस्यौदा प्रतिवेदन समिति सभापति ओजस्वी शेरचनसमक्ष बुझाएका हुन्।
समितिले यसअघि दिएको निर्देशन, विधेयकमाथिको छलफलमा उठेका विषय तथा सभापतिबाट निष्कर्षका रूपमा प्रस्तुत भएका निर्णयलाई आधार बनाएर प्रतिवेदन तयार पारिएको सचिव धमलाले जानकारी दिएका छन्।
मस्यौदा तयार गर्ने क्रममा समिति सचिवालयले सम्बन्धित निकायसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समेत समन्वय गरेको जनाएको छ।
सचिवालयका अनुसार विधेयकमा एउटा नयाँ परिच्छेद थपिनुका साथै चारवटा दफा थपिएका छन् भने एउटा दफा हटाइएको छ। राष्ट्रिय सभाबाट पारित भएर समितिले यसअघि नै स्वीकार गरिसकेका संशोधनलाई भने मस्यौदामा दोहोर्याइएको छैन।
तर राष्ट्रिय सभाको संशोधनमाथि समितिले थप परिमार्जन गरेको विषयलाई भने प्रतिवेदनमा समेटिएको छ।
समितिमा पेश भएको मस्यौदा प्रतिवेदनमाथि बुधबार छलफल गर्ने र आवश्यक प्रक्रिया पूरा गरी पारित गर्ने तयारी गरिएको छ।
































































