काठमाडौं- प्रतिनिधिसभाको मंगलबारको बैठक सकिनै लाग्दा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई सदनको मर्यादा र आचरणसम्बन्धी व्यवस्था सम्झाएका छन् ।


ADVERTISEMENT


बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली–२०८३ का नियम २० र २१ प्रति सांसदहरूको ध्यानाकर्षण गराए । उनले हरेक दिनको सभा र बैठकलाई मर्यादित तथा उत्कृष्ट बनाउने जिम्मेवारी सबै सदस्यको भएको बताए ।


ADVERTISEMENT

# # #


सभामुखले विशेषगरी नियम २० को खण्ड (ट) मा रहेको मोबाइल फोन प्रयोगसम्बन्धी व्यवस्था स्मरण गराएका हुन् । उक्त व्यवस्थाअनुसार बैठक कक्षमा मोबाइल फोन मौन अवस्थामा राख्नुपर्ने तथा फोनमा कुरा गर्न, फोटो खिच्न र अडियो–भिडियो रेकर्ड गर्न नहुने व्यवस्था छ ।

सभामुख अर्यालले भने, ‘म सबै माननीय सदस्यहरूलाई प्रतिनिधिसभा नियमावलीको नियम २० र नियम २१ । यसमा पनि नियम २० को खण्ड (ट) प्रति यहाँहरूको ध्यानाकर्षण गराउँदछु ।’

नियमावलीको नियम २० मा बैठकका क्रममा सांसदहरूले पालना गर्नुपर्ने विभिन्न ११ वटा व्यवस्था छन् । सभामुख बैठक कक्षमा प्रवेश गर्दा सम्मान प्रकट गर्नुपर्ने, सभामुखले समय दिएपछि मात्र बोल्नुपर्ने, सभामुखले सम्बोधन गरिरहेका बेला ध्यानपूर्वक सुन्नुपर्ने र बैठकको मर्यादा भंग हुने गतिविधि गर्न नहुनेलगायतका प्रावधान छन् ।

त्यस्तै, बैठकको कामसँग प्रत्यक्ष सम्बन्धित विषयबाहेक अन्य पुस्तक, समाचारपत्र वा कागजपत्र पढ्न नहुने व्यवस्था पनि नियमावलीमा उल्लेख छ ।

सभामुखले नियम २१ अन्तर्गत सदनमा छलफलमा भाग लिने सांसदहरूले पालना गर्नुपर्ने व्यवस्थातर्फ समेत ध्यानाकर्षण गराए । जसअनुसार सभामुखको अनुमति लिएर मात्र बोल्नुपर्ने, असंसदीय शब्द प्रयोग गर्न नहुने, अपमानजनक वा अशिष्ट भाषा प्रयोग गर्न नहुने र सदनको कार्यमा बाधा पार्ने उद्देश्यले बोल्ने अधिकारको दुरुपयोग गर्न नहुने व्यवस्था छ ।

मंगलबारको बैठकमै न्यायपालिकाको भूमिकालाई लिएर सांसदहरूबीच बहस भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले पछिल्ला घटनाक्रम हेर्दा अदालतले परिवर्तनलाई आत्मसात् नगरेको महसुस हुने टिप्पणी गरेका थिए ।

उनको अभिव्यक्तिप्रति नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले नियमापत्ति जनाएका थिए । बरालले संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको भूमिका अलग–अलग निर्धारण गरेको उल्लेख गर्दै न्यायालयमाथि हस्तक्षेप हुने विषयमा प्रश्न उठाएका थिए ।

यसै पृष्ठभूमिमा बैठकको अन्त्यतिर सभामुख अर्यालले कुनै सांसदको नाम नलिई सदनको मर्यादा र अनुशासन कायम राख्न सबै सदस्यको जिम्मेवारी रहेको स्मरण गराएका हुन् ।

उनले प्रतिनिधिसभा नियमावली–२०८३ सबै सदस्यको पहलबाट लागू भएको उल्लेख गर्दै त्यसमा भएका व्यवस्थाको पालना पनि सबैबाट हुनुपर्नेमा जोड दिएका छन् ।