काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोश्रो दिन सदस्यहरुले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन लगाएतका बिषयका धारणा राखेका छन् ।
मंगलबार ललितपुरमा बसेको बैठकमा ९६ जना सदस्यहरुले धारणा राखेको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।उनले केहि सदस्यहरुले अध्यक्षको प्रतिवेदनको आलोचना गरेपनि अधिकांश सदस्यहरुले समर्थन गरेको दावी गरेका छन्।
अध्यक्षको प्रतिवेदनले वर्तमान राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशको सही विश्लेषण गरेको, पार्टीभित्रका समस्या उजागर गरेको र वर्तमान सरकारका गलत क्रियाकलापको सही व्याख्या गर्दै भावी कार्यदिशा तय गरेको उनले बताएका छन्। उनले पार्टी पुनर्गठन भनेको अध्यक्ष वा नेतृत्व परिवर्तन नभएको भन्दै उनले पार्टी र नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्व खुइल्याउने नभई अझ बलियो र स्थापित बनाएर लैजाने नीति रहेको उल्लेख गरेका छन् ।
उनले पार्टीलाई कार्यकर्तामा आधारित पार्टीको रूपमा व्यवस्थित गर्दै सङ्गठनात्मक संरचना र जनसङ्गठनहरूलाई थप मजबुत बनाइने बताएका छन् । एमालेलाई थप एकताबद्ध, सुदृढ, बलियो नेतृत्वसहितको सशक्त र सुधारिएको पार्टीका रूपमा स्थापित गर्ने संकल्पका साथ बैठक सम्पन्न हुने सचिव बस्नेतले बताए। एमाले केन्द्रीय कमिटी बिहीबार सम्पन्न हुने बताइएको छ ।
































































