काठमाडौं – चितवनको सौराहास्थित रोयल टुलिप चितवन ले पाँचतारे डिलक्स होटलको मान्यता प्राप्त गरेको छ । पर्यटन विभागको स्थलगत निरीक्षणपछि रिसोर्टले उक्त मान्यता पाएको हो ।
केटिएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित रिसोर्टले स्तरीकरणका लागि पर्यटन विभागमा निवेदन दिएको थियो । विभागको टोलीले रिसोर्टको भौतिक पूर्वाधार, सेवा–सुविधा, सुरक्षा, अतिथि सत्कार तथा सञ्चालन प्रणालीको निरीक्षण गरेको थियो ।
निर्धारित मापदण्ड पूरा गरेको पाइएपछि रिसोर्टलाई पाँचतारे डिलक्सको मान्यता प्रदान गरिएको कम्पनीले जनाएको छ । रिसोर्टमा ६५ वटा कोठासहित रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब र हेलिप्याडलगायत सुविधा रहेका छन् ।
अन्तर्राष्ट्रिय होटल समूह लुभ्र होटल्स ग्रुपअन्तर्गतको रोयल टुलिप ब्रान्डसँगको व्यवस्थापकीय सम्झौतामा सञ्चालन भइरहेको रिसोर्टले सन् २०२५ जुलाईदेखि सफ्ट ओपनिङ गरेको थियो । रिसोर्टमा बार तथा मनोरञ्जनका लागि स्पोर्ट्स बारसमेत सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।
यसैबीच, रिसोर्ट सञ्चालक केटिएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने तयारीसमेत अघि बढाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
































































