काठमाडौं – नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेतामा मनोनित गरेको छ ।
ललितपुरमा बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकले भण्डारीको व्यक्तित्व, क्षमता र अभिभावकत्वलाई सम्मान गर्दै पार्टीभित्र सम्मानित वरिष्ठ नेताको भूमिका दिने यसअघिको सचिवालय बैठकको निर्णयलाई अनुमोदन गरेको एमाले सचिव पद्मा अर्यालले जानकारी दिइन् ।
बैठकले विभिन्न उच्च जिम्मेवारी सम्हालेका व्यक्तित्वहरु पूर्वसभामुख देवराज घिमिरे, दक्षिण कोरियाका लागि पूर्वराजदूत शिवमाया तुम्बाहाङ्फे, आन्दोलनका अग्रज योद्धा काशीनाथ अधिकारी लगायत २० जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ भने समायोजनबाट आएका मोहम्मद इस्तियाक राई, पूर्वमन्त्री प्रदीप यादव लगाएतका नेताहरुलाई पनि केन्द्रीय कमिटीमा मनोनयन गरी जिम्मेवारी दिइएको अर्यालले जानकारी दिइन् । त्यस्तै बैठकले पोलिटब्युरोभित्रबाट एक–तिहाइ स्थायी कमिटी बनाउने प्रावधान रहे पनि समय अभावका कारण तत्काल पोलिटब्युरो गठन हुन नसकेकाले पदाधिकारीबाहेक तत्कालका लागि ७ जनालाई स्थायी कमिटीमा मनोनयन गरिएको उनले बताइन् । मनोनित हुनेहरूमा पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, थममाया थापा, प्रदीप ज्ञवाली, लालबाबु पण्डित, देवराज घिमिरे, काशीनाथ अधिकारी र शिवमाया तुम्बाहाम्फे रहनुभएको छ । पोलिटब्युरो गठन, स्थायी कमिटीका बाँकी सदस्य तथा केन्द्रीय कमिटीका बाँकी सदस्यहरूको मनोनयन गर्ने अधिकार केन्द्रीय कमिटीले पार्टी सचिवालयलाई प्रत्यायोजन गरेको अर्यालले बताइन् ।
त्यसैगरि बैठकले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, तल्लो तहबाट आएका समीक्षा प्रतिवेदनहरू र सदस्यहरूको धारणाका आधारमा पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालिएको अर्यालले जानकारी दिइन् । नेतृत्व परिवर्तन वा पार्टी पुनर्गठनसँग जोडिएर देखिएका आन्तरिक विवाद र प्रश्न औपचारिक रुपमा नै बन्द गरिएको उहाले बताइन् ।
































































