काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार बताए ।
बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री साहले समग्र आपूर्ति प्रणालीलाई व्यवस्थीत गर्न तथा ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार बताएका हुन् ।
हाल भन्सार क्लियरेन्सको समय छोट्याउन अर्थ मन्त्रालय, बाटोको जाम व्यवस्थापनका लागि गृह मन्त्रालय र नियमित आउने १०० बुलेट ग्यासलाई अस्थायी रूपमा हप्ताको १६० बुलेटसम्म पु¥याउन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिएको उहाले जानकारी दिए ।
उनले हाल मुलुकमा पेट्रोल, डिजेल र हवाई इन्धनको कुनै पनि अभाव नरहेको स्पष्ट पार्नुभयो । उहाले ढुवानी, भण्डारण, वितरण र प्रशासनिक खर्चमा मितव्ययिता अपनाई अनावश्यक खर्च कटौती गर्ने तथा मौज्दात व्यवस्थापनलाई वैज्ञानिक बनाइने उल्लेख गरे
उनले पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरीकरणका लागि मूल्य स्थिरीकरण कोष सञ्चालन नियमावली, २०७१ (संशोधित सहित) बमोजिम स्रोतको परिचालन गरिएको जानकारी दिए । मूल्य निर्धारणमा लागत संरचना, अन्तर्राष्ट्रिय बजार मूल्य, विनिमय दर तथा कर र शुल्कको प्रभावलाई पारदर्शी रूपमा विश्लेषण गर्ने गरिएको उनको भनाइ छ ।
































































