काठमाडौं- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पार्टीको जारी अधिवेशनलाई केवल आवधिक सांगठनिक प्रक्रिया नभई पार्टी, लोकतन्त्र र राष्ट्रिय भविष्यसँग जोडिएको ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद केसीले नेपाली कांग्रेसको इतिहासमा अग्रज पुस्ताको अनुभव, त्याग र मार्गदर्शन तथा नयाँ पुस्ताको ऊर्जा, साहस, नवप्रवर्तन र उत्साहबीचको समन्वय महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


बदलिँदो सामाजिक–राजनीतिक परिवेश तथा वर्तमानका चुनौती र यथार्थलाई गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्नेमा जोड दिँदै उनले अधिवेशनमार्फत पार्टी संगठनलाई नयाँ दिशा दिनुपर्ने बताएका छन्।

केसीले पार्टीको समग्र एकता, सौहार्दता र सर्वसम्मतिका लागि आफूले निरन्तर प्रयास गर्दै आएको उल्लेख गरेका छन्,  तर महाधिवेशनका सहभागीबीच शतप्रतिशत सहमति र एकताको सम्भावना नरहेको अवस्था आए स्वस्थ, निष्पक्ष र गुटमुक्त लोकतान्त्रिक प्रतिस्पर्धालाई सहर्ष आत्मसात् गर्नुपर्ने उनको धारणा छ ।

लोकतन्त्रको वास्तविक सुन्दरता विचार र विवेकको स्वतन्त्र प्रयोगमा निहित रहेको उल्लेख गर्दै केसीले अधिवेशनको प्रतिस्पर्धालाई कुनै पनि किसिमको अवाञ्छित हस्तक्षेप, दबाब वा विचार लाद्ने प्रवृत्तिबाट पूर्ण रूपमा मुक्त राख्नुपर्ने बताएका छन् ।

 उनले व्यक्तिगत आग्रह, पूर्वाग्रह र भिन्नताभन्दा माथि उठेर पार्टीको बृहत्तर हित, पुस्तान्तरणको सन्तुलन र संगठनको सुदृढीकरणमा केन्द्रित हुन पनि नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

अधिवेशनलाई मर्यादित, व्यवस्थित र पूर्ण रूपमा सफल बनाउनु प्रत्येक जिम्मेवार नेता तथा कार्यकर्ताको साझा दायित्व भएको उल्लेख गर्दै सांसद केसीले इतिहासले सुम्पिएको जिम्मेवारीलाई निष्ठापूर्वक स्वीकार गर्न उनको आग्रह छ ।

जारी अधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन सम्पूर्ण नेता, कार्यकर्ता तथा जिम्मेवार साथीहरूलाई एकताबद्ध भएर योगदान गर्न  उनले  हार्दिक अपिल गरेका छन् ।