काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि गल्फ लुब्रिकेन्ट्स र जनकपुर बोल्ट्सबीचको साझेदारी नवीकरण भएको छ।


ADVERTISEMENT


नेपालमा गल्फ लुब्रिकेन्ट्सको आधिकारिक आयातकर्ता तथा उत्पादक नेपाल ल्युब आयल लिमिटेडले जनकपुर बोल्ट्ससँग साझेदारी नवीकरण गरेको हो। नवीकृत साझेदारीअन्तर्गत गल्फ लुब्रिकेन्ट्स जनकपुर बोल्ट्सको आधिकारिक लुब्रिकेन्ट साझेदारका रूपमा निरन्तर रहनेछ ।


ADVERTISEMENT

# # #


ललितपुरको झम्सिखेलस्थित द प्लाजामा आयोजित सम्झौता हस्ताक्षर समारोहमा साझेदारीको औपचारिक घोषणा गरिएको हो । सोही अवसरमा जनकपुर बोल्ट्सको पहिचान र रङलाई आधार बनाएर तयार पारिएको ‘गल्फ प्राइड ४टी प्लस २०डब्लु–५०’ को सीमित विशेष संस्करण प्याक समेत सार्वजनिक गरिएको छ ।

एनपीएलका अघिल्ला संस्करणमा भएको सहकार्यलाई निरन्तरता दिँदै सिजन–३ को साझेदारीलाई प्रायोजन र ब्रान्ड दृश्यतामा मात्र सीमित नराखी क्रिकेटप्रेमी, उपभोक्ता, खुद्रा विक्रेता, मेकानिक तथा व्यावसायिक साझेदारसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ ।

जनकपुर बोल्ट्सको ऊर्जा र गल्फ लुब्रिकेन्ट्सको प्रदर्शनमुखी पहिचानलाई जोड्दै यस वर्षको अभियान ‘गल्फ पावर्ड बोल्ट्स’ नाराअन्तर्गत सञ्चालन गरिने भएको छ ।

नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत करणकुमार चौधरीले जनकपुर बोल्ट्ससँगको सम्बन्ध ब्रान्ड प्रवर्द्धनमा मात्र सीमित नभई टोली र मधेस क्षेत्रसँग जोडिएको सम्बन्ध भएको बताएका छन्। उनले सिजन–३ मा साझेदारीलाई थप गहिरो बनाउँदै गल्फका उत्पादनलाई क्रिकेटप्रेमी, खुद्रा विक्रेता र मेकानिकसम्म पुर्‍याउने लक्ष्य रहेको बताएका छन् ।

त्यस्तै, जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले गल्फ सुरुदेखि नै टोलीसँग जोडिँदै आएको उल्लेख गर्दै निरन्तरको विश्वास र सहकार्यका लागि नेपाल ल्युब आयल तथा गल्फप्रति आभार व्यक्त गरेका छन् ।

जनकपुर बोल्ट्सको रङमा विशेष संस्करण

साझेदारीअन्तर्गत सार्वजनिक गरिएको गल्फ प्राइड ४टी प्लस २०डब्लु–५० विशेष संस्करण प्याक सीमित संख्यामा बजारमा उपलब्ध हुनेछ । जनकपुर बोल्ट्सको पहिचान र रङलाई आधार बनाएर तयार गरिएको उक्त विशेष प्याक २०८३ असोज १५ देखि मंसिर १४ गतेसम्म बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपाल ल्युब आयल लिमिटेडका डीजीएम–सेल्स एन्ड मार्केटिङ दिवाकर मिश्रले विशेष संस्करणमार्फत साझेदारीलाई ब्रान्ड दृश्यतामा मात्र सीमित नराखी बजारसँग थप नजिकको सम्बन्ध स्थापित गर्ने उद्देश्य रहेको बताएका छन् ।

विशेष संस्करणको बजार अभियानअन्तर्गत सबैभन्दा बढी विशेष संस्करण प्याक बिक्री गर्ने खुद्रा विक्रेतालाई सम्मान गर्न गल्फले ‘रिटेलर लिडरबोर्ड’ कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ ।

सिजन–३ को साझेदारीलाई डिजिटल प्लेटफर्म, खेलका दिन हुने गतिविधि तथा गल्फको बजार सञ्जालमार्फत सञ्चालन हुने विभिन्न उपभोक्तामुखी कार्यक्रमबाट थप प्रभावकारी बनाइने कम्पनीले जनाएको छ ।

नेपाल प्रिमियर लिगको तेस्रो संस्करण २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म सञ्चालन हुने तय भएको छ ।

नेपाल ल्युब आयल लिमिटेडले सन् १९८४ देखि नेपालमा गल्फ लुब्रिकेन्ट्सको उत्पादन तथा वितरण गर्दै आएको छ । कम्पनीका अनुसार बाराको अमलेखगञ्जस्थित प्लान्टबाट अटोमोटिभ तथा औद्योगिक लुब्रिकेन्ट र ट्रान्सफर्मर आयल उत्पादन हुँदै आएको छ ।