काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग भेटवार्ता गर्दै एजेन्सी दर्तासम्बन्धी नियमले अटोमोबाइल व्यवसायमा पारेको प्रभावबारे छलफल गरेको छ।


ADVERTISEMENT


भेटका क्रममा नाइमाले एजेन्सी दर्ता गर्दा वा नयाँ वस्तु थप्दा कम्पनीको पुँजीको ०.५ प्रतिशत धरौटी बुझाउनुपर्ने व्यवस्था तथा नियममा ‘वस्तु’को परिभाषा स्पष्ट नभएको विषयमा मन्त्री साहको ध्यानाकर्षण गराएको हो।


ADVERTISEMENT

# # #


एउटै ब्रान्डका विभिन्न मोडेललाई अलग–अलग वस्तुका रूपमा मानी प्रत्येक मोडेलका लागि छुट्टाछुट्टै धरौटी माग गर्दा व्यवसायीको ठूलो रकम रोकिएर आर्थिक भार थपिने नाइमाले जनाएको छ।

नाइमाले ‘वस्तु’को परिभाषा स्पष्ट गर्न तथा एउटै ब्रान्डअन्तर्गत रहेका विभिन्न मोडेलका लागि छुट्टाछुट्टै धरौटी लिनुपर्ने व्यवस्था हटाउन आग्रह गरेको छ। यस विषयमा नाइमाले यसअघि पनि मन्त्रालयमा लिखित सुझाव पेस गरिसकेको जनाएको छ ।

छलफलका क्रममा मन्त्री साहले नाइमाले उठाएका विषयलाई सकारात्मक रूपमा लिँदै यसअघि भएका निर्णयहरूको पुनरावलोकन गरी एजेन्सी दर्तासम्बन्धी नियमलाई व्यवसायी तथा उद्यमीमैत्री बनाउने गरी आवश्यक प्रक्रिया अघि बढाउने बताएका छन् ।

मन्त्रीको सकारात्मक पहलप्रति नाइमाले आभार व्यक्त गर्दै नियम पुनरावलोकनका क्रममा आवश्यक तथ्य, विवरण तथा सुझाव उपलब्ध गराई मन्त्रालयसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।

भेटमा नाइमाका बोर्ड सदस्यहरू नराकार श्रेष्ठ र उदयन कार्की, रणनीति तथा सदस्यता मामिला समितिका संयोजक आकाश गोल्छा, नाइमाका सदस्य कम्पनीहरू शशीला मोटर्स प्रालि., ओम्नी मोटर्स प्रालि., स्पार्क अटोमोटिभ्स प्रालि. र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका प्रतिनिधिहरू तथा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालसहितको टोली सहभागी छ ।