न्यूयोर्क – नेपाली जनसम्पर्क समिति अमेरिकाले परराष्ट्रमन्त्री शिशिर खनाललाई दुई छुट्टाछुट्टै विषयमा ज्ञापनपत्र बुझाएको छ ।
न्यूयोर्कमा गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए) ले आयोजना गरेको कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाको नर्दन क्यालिफोर्निया र न्यूयोर्क च्याप्टरले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका सरोकारका विषय समेट्दै ज्ञापनपत्र बुझाएका हुन् ।
नर्दन क्यालिफोर्निया च्याप्टरले सानफ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावास पुनःस्थापना गरी नियमित सञ्चालन गर्न सरकारसँग माग गरेको छ । विगतमा नेपाली जनसम्पर्क समिति अमेरिकाको पहलमा स्थापना भएको महावाणिज्य दूतावास हालको सरकार गठनपछि बन्द भएको भन्दै त्यसलाई पुनः सञ्चालनमा ल्याउन आग्रह गरिएको हो ।
त्यस्तै, न्यूयोर्क च्याप्टरले भोटेकोशी क्षेत्रमा भएको प्राकृतिक विपत्तिलाई ध्यानमा राख्दै अमेरिकामा रहेका नेपालीहरूलाई सहयोग उपलब्ध गराउन अमेरिकी सरकारसँग कूटनीतिक पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ ।
नर्दन क्यालिफोर्निया च्याप्टरको ज्ञापनपत्र समितिकी केन्द्रीय सहमहामन्त्री अनिता परियारले वाचन गरेकी थिइन् भने न्यूयोर्क च्याप्टरको ज्ञापनपत्र महामन्त्री सुवास केसीले बुझाउँदै त्यसका केही अंश पढेर सुनाइएको थियो ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य खगेन्द्र क्षेत्री, समितिका उपसभापति सञ्जिव श्रेष्ठ र निमा बम्जन, सहमहामन्त्री अनिता परियार, केन्द्रीय सदस्य मिन खड्का र दिनेश ढाँगीलगायतको सहभागिता थियो ।
त्यस्तै, न्यूयोर्क च्याप्टरका वरिष्ठ उपसभापति न्वाङ पुरी शेर्पा, उपाध्यक्ष भीमसेन श्रेष्ठ, महामन्त्री सुवास केसी तथा सदस्यहरू महादत्त कँडेल, टासी शेर्पा, निर्मला बराल र भरत भट्टराईलगायत सहभागी थिए ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति मुनिन्द्र नेम्बाङले ज्ञापनपत्र बुझाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने पदाधिकारी, सदस्य तथा दुवै च्याप्टरलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिइएको छ ।
अमेरिकामा रहेका नेपाली समुदायसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले ज्ञापनपत्रमा उठाइएका मागलाई गम्भीरतापूर्वक लिँदै यथाशीघ्र सम्बोधन गर्न नेपाल सरकारसँग आग्रह गरिएको सभापति नेम्बाङले बताइएको छ ।



































































