काठमाडौं – आजदेखि सोह्र श्राद्ध अर्थात् पितृपक्ष प्रारम्भ भएको छ ।
आज असोज कृष्ण प्रतिपदा अर्थात् असोज ११ गतेबाट सोह्र श्राद्ध प्रारम्भ भएको हो। आज प्रतिपदा श्राद्ध गरिँदैछ। पितृ पक्षका रूपमा समेत चिनिने सोह्र श्राद्धमा दिवंगत आफन्त तथा पितृको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गर्ने धार्मिक परम्परा छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा पितृलाई श्रद्धापूर्वक सम्झिने भएकाले यस अवधिलाई सोह्र श्राद्ध भनिएको हो। धर्मशास्त्रविद्हरूका अनुसार सम्बन्धित दिवंगत व्यक्तिको तिथिअनुसार श्राद्ध गर्ने परम्परा छ ।
श्राद्धको मुख्य कर्म अपराह्नकालमा गर्नुपर्ने शास्त्रीय विधान रहेको बताइन्छ । सोह्र श्राद्धलाई पितृप्रति श्रद्धा, कृतज्ञता र पारिवारिक दायित्व व्यक्त गर्ने अवसरका रूपमा लिइन्छ। वैदिक सनातन परम्पराअनुसार ठूला चाडपर्व, यज्ञयाग तथा धार्मिक कार्यअघि पितृलाई सम्झिने चलन रहेकाले दसैँअघि पितृपक्ष मनाउने गरिएको हो। पितृप्रति गरिने तर्पण, पिण्डदान र दानबाट पितृ तृप्त हुने धार्मिक विश्वास छ। सोह्र श्राद्धको अन्तिम दिन असोज २४ गते पितृ विसर्जन तथा औँसी श्राद्ध हुनेछ ।
त्यसपछि असोज २५ गतेबाट घटस्थापनासँगै नवरात्र अर्थात् बडादसैँको औपचारिक सुरुवात हुनेछ। धार्मिक परम्पराअनुसार कुनै कारणले आफ्नो पितृको तिथिमा श्राद्ध गर्न नसक्नेका लागि पनि विभिन्न वैकल्पिक तिथि उल्लेख गरिएको धर्मशास्त्रविद्हरू बताउँछन्। यस्तो अवस्थामा परिवारको कुलपरम्परा र सम्बन्धित पुरोहितको परामर्शअनुसार श्राद्ध गर्ने चलन छ।
































































