काठमाडौं – नारायणी नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेपछि चितवन तथा नवलपरासीका नदी आसपासका होचा र डुबान सम्भावित क्षेत्रमा उच्च बाढी जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले नारायणी नदीमा हालको जलसतह खतरा तह ९ मिटरभन्दा माथि करिब ११ मिटर पुगेको जनाएको छ । नारायणीका प्रमुख सहायक नदीमध्ये कालीगण्डकीमा समेत बहाव खतरा तहभन्दा उल्लेख्य रूपमा माथि पुगेको छ । नारायनी नदीमा आएको उच्च बाढीले भरतपुर महानगर पालिकाको १ नम्बर वडा २ नम्बर र १६÷१७ नम्बर वडाको केही घरहरू डुवानमा परेको छ ।
१६ र १७ नम्बर वडाका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । बाढीको सम्भाबित क्षेत्रमा नेपाल प्रहरी ससस्त्र प्रहरी नेपाली सेना र महानगर प्रहरी परिचालन गरिएको उनले बताए ।
सेती, मादी, मस्र्याङ्दी, दरौंदी र चेपे नदीमा बहाव सतर्कता तहभन्दा माथि र बढ्दो क्रममा रहेको तथा बुढीगण्डकी र त्रिशूली नदीमा समेत बहाव सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । तटीय क्षेत्र, नदी किनार, तल्लो भूभाग तथा कमजोर तटबन्ध र संरचना भएका स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।


































































