काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको संख्या र उत्पादन क्षमता बढाउन सरकारले विज्ञ सम्मिलित कार्यदल गठन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा। जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोगसम्बन्धी छलफलपछि कार्यदल गठन गर्ने निर्णय गरिएको हो।

समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोलीसहितको कार्यदल गठन गरिनेछ। कार्यदलले जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन र उपयोगका साथै वैद्यखानाको विकासका लागि तीन महिनाभित्र कार्यान्वयनयोग्य कार्ययोजना तयार गर्ने बताइएको छ।

स्वास्थ्य सल्लाहकार डा। अग्रवालले मुलुकमा उपलब्ध जडीबुटीको अधिकतम उपयोग गर्दै वैद्यखानाबाट उत्पादन हुने औषधिको संख्या बढाउनुपर्नेमा जोड दिए। आगामी दिनमा नेपाली आयुर्वेदिक औषधि विदेशमा समेत निर्यात गर्ने लक्ष्यसहित काम गर्नुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले औषधिको कच्चा पदार्थका रूपमा प्रयोग हुने जडीबुटी संकलनमा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए। उनले जडीबुटीको उत्पादनदेखि संकलन र उपभोगसम्म स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गरे।

गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले आयुर्वेदिक औषधिका लागि आवश्यक कच्चा पदार्थ संकलन तथा उपयोगमा मन्त्रालयबाट सहजीकरण गर्ने प्रतिबद्धता जनाए। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले जडीबुटी संकलनमा सरोकारवाला निकायबीच समन्वयसँगै कानुनी स्पष्टता आवश्यक रहेको बताए।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले जडीबुटी उत्पादन बढाउन किसानसँग सहकार्य गरी व्यावसायिक खेतीतर्फ जानुपर्ने बताए । उनले जडीबुटी कम्पनीहरूसँग समेत सहकार्य बढाउनुपर्नेमा जोड दिए ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडकी निमित्त महाप्रबन्धक उषा रिजाल जोशीले आयुर्वेदिक औषधि उत्पादनको प्रमुख चुनौती कच्चा पदार्थको उपलब्धता रहेको बताइन् । ठूलो परिमाणमा जडीबुटी उत्पादन गर्न सके मात्रै कम्पनीको विकास सम्भव हुने उनको भनाइ थियो। जडीबुटीको कच्चा पदार्थमा मूल्य समर्थनको व्यवस्था गर्न सके संकलनमा समेत सहज हुने उनले बताइन्।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनमा रहेका जडीबुटीको संकलन तथा उपयोग सहज बनाउन विद्यमान कानुनमा सुधार आवश्यक रहेको बताए ।

वनस्पति विभागका महानिर्देशक डा. सञ्जीवकुमार राईले जडीबुटी उत्पादन वृद्धि गर्न सार्वजनिक खरिद ऐनलगायत केही कानुनी व्यवस्था परिमार्जन गर्नुपर्ने धारणा राखे।

छलफलमा सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीले वैद्यखानाको वर्तमान अवस्था, समस्या तथा समाधानका उपायबारे प्रस्तुतीकरण गरेका थिए ।