काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै आएको बाढीपहिरोपछि अष्ट्रेलिया सरकारले उपलब्ध गराएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले विपद्का बेला अष्ट्रेलियाले देखाएको मित्रता, एक्यबद्धता र सहयोगका लागि धन्यवाद दिएका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री शाहले बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिए ।

विपद्पछि अष्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटर, राहत सामग्री तथा १७ सदस्यीय विपद् सहकार्य र प्रतिकार्य टोली नेपाल पठाएकोमा प्रधानमन्त्री शाहले प्रशंसा गरेका छन् । अष्ट्रेलियाले उपलब्ध गराएको १ करोड १० लाख अष्ट्रेलियन डलर सहयोग दुई देशबीचको प्रगाढ सम्बन्धको प्रतीक भएको उनले बताए।

बाढीपहिरोका कारण बेपत्ता भएका अष्ट्रेलियन नागरिकको खोजी कार्यलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको प्रधानमन्त्री शाहले जानकारी दिए। साथै, नेपालको मानव संसाधन विकासमा अष्ट्रेलियाले गर्दै आएको निरन्तर सहयोगप्रति पनि उनले आभार व्यक्त गरेका छन् ।

भेटमा अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले प्राकृतिक विपद्बाट नेपालले बेहोर्नुपरेको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरे। उनले हालै संयुक्त राष्ट्रसंघमा नेपालको सशक्त र प्रभावकारी उपस्थितिको समेत प्रशंसा गरेका थिए ।