चितवन– त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कृषि तथा वन विज्ञान अध्ययन संस्थान अन्तर्गत कृषि क्याम्पस रहेको रामपुरमा भरतपुर महानगरपालिकाले त्रिविसँग मिलेर इञ्जिनियरिङ कलेज चलाउने सम्भावना देखा परेको छ ।


ADVERTISEMENT


भरतपुर महानगरपालिकाले बिहीबार भरतपुरमा आयोजना गरेको सुशासन तथा वित्तीय प्रबन्ध विषयक अन्तरक्रिया कार्यक्रममा भएको छलफलले यस्तो सम्भावना देखाएको हो । कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थराज खनियाले ‘भरतपुर महानगर र त्रिवि मिलेर रामपुरमा इञ्जिनियरिङ कलेज संचालन गर्न गृहकार्य सुरु गरौं’ भनेपछि त्यसमाथि प्रतिक्रिया जनाउँदै भरतपुर महानगर प्रमुख रेनु दाहालले भनिन्, ‘इञ्जिनियरिङ कलेजको आवश्यकता हामीले पनि महसुस गरेका छौँ । यो प्रस्ताव सहर्ष स्वीकार गर्न हामी तयार छौँ ।’


ADVERTISEMENT

# # #


प्रा डा खनियाँले विगतमा त्रिवि र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच ठूलो झगडा परेको र झगडा सल्ट्याउने क्रममा त्रिविले रामपुरमा कृषि क्यापस हटाएर इञ्जिनियरिङ कलेज संचालन गर्ने सहमति भएको जानकारी गराए । उनले चितवनको रणनीतिक भूगोलले विकास तान्ने भन्दै स्थानीय सरकारले एक प्रतिशत बजेट अन्वेषणका लागि छुट्याउन आग्रह गरे ।

कार्यक्रमको अध्यक्षता गरेकी भरतपुर महानगर प्रमुख दाहालले दोस्रो नगर सभाका नीति तथा कार्यक्रम भरतपुर महानगरको गुरुयोजनालाई टेवा पुग्ने खालको आउने बताइन् । महानगरले गुरुयोजना बनाउन गइरहेको महानगर प्रमुख दाहालले जानकारी दिइन् ।

प्रदेश सभा सदस्य विजय सुवेदीले भरतपुरलाई दक्षिण एसियाको एउटा सुन्दर शहर बनाउनु पर्ने बताए ।

कार्यक्रममा सुशासनबारे प्रस्तुति दिँदै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सुशासनका तीन वटा आयाम रहेको बताए । उनका अनुसार सुशासनका तीन आयाममा राजनीतिक आयाम अन्तर्गत जनसहभागिता, व्यवस्थापकीय आयाम अन्तर्गत छिटोछरितो सेवा र नैतिक आयाम अन्तर्गत पारदर्शिता पर्छन् ।

तीन महिनामा एक पटक महानगरले भएगरेका काम सार्वजनिक गर्न सके राम्रो हुने उनको भनाइ थियो ।