काठमाडौँ– आसाममा रहँदा मदिरा विरोधी कवि तथा गीतकार हरिभक्त कटुवाललाई काठमाडौँले रक्स्याहा बनायो तर उनको आर्थिक अवस्थाप्रति विरलैले ध्यान दिए ।
बिरामी अवस्थामा कसैबाट सहयोग नपाएपछि नेपाल छाडेर हिँड्दा उनलाई बिदाइ गर्ने विरलै थिए । तत्कालीन नेपाल एकेडेमीले समेत आर्थिक सहयोग गर्न बजेट नभएको भनी उनलाई फिर्ता पठाइदियो ।
कटुवालको ८३ औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा नाट्यकर्मी पुरु लम्सालले बनाएको ‘अनि हरिभक्त फर्केनन्’शीर्षक वृत्तचित्रले सो कुरा बोलेको छ । कटुवालका गीत र कवितामा बेजोड शब्द छन् जसको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ बोलको गीत नारायणगोपालले ३६ औँ चोटिमा मात्र रिकर्ड गरे ।
उनले नेपालमा साहित्यिक पत्रिकाहरु सम्पादन गर्नाका साथै बहुदलीय व्यवस्थालाई जिताउन सडक कविता क्रान्तिमा पनि भाग लिएका थिए । साथीहरुको सङ्गतबाट मदिरा पिउने कटुवालको असल पक्षभन्दा रक्सी प्रकरणको मात्र ज्यादाले चर्चा गर्ने गरेकामा उनका छोरी र अन्य साथीहरु दुःख मान्छन् ।
कार्यक्रममा आजै जन्मदिन परेकी साहित्यकार माया ठकुरीले आफूलाई कटुवालले नै साहित्यकार बनाएको बताए भने रोचक घिमिरेले उनको हराएको रातो डायरी खोज्नुपर्नेमा जोड दिए। वृत्तचित्र निर्माता लम्सालले अर्को वर्षसम्म कटुवालका नाममा प्रतिष्ठान गठन हुने जानकारी दिए। सो अवसरमा कटुवाल र ठकुरीका नाममा दुई केक काटिएको थियो । रासस