ललितपुर – नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बागमती प्रदेशसभा सदस्य तथा पूर्व युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

खेलकुद क्षेत्रबाट सार्वजनिक जीवनमा स्थापित हुँदै युवा संगठन, लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेसको संगठन निर्माणमा लामो समयदेखि सक्रिय महर्जनले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्।

महर्जनको राजनीतिक यात्रा २०४६ सालको जनआन्दोलनसँग जोडिन्छ। जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको विचार र नेतृत्वबाट प्रभावित भएर उनले खेलाडीहरूलाई संगठित गर्दै आन्दोलनमा सहभागिता जनाएको बताइन्छ। त्यसयता उनी युवा परिचालन र पार्टी संगठनका विभिन्न गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका छन्।

२०६२/६३ को लोकतान्त्रिक आन्दोलनका क्रममा पनि महर्जनले उपत्यकामा युवा परिचालनको जिम्मेवारी सम्हालेका थिए। आन्दोलन र संगठनका क्रममा युवाहरूलाई परिचालन तथा संगठित गर्ने भूमिकाले उनको राजनीतिक यात्रालाई थप स्थापित गरेको देखिन्छ।

तरुण दलदेखि महासमितिसम्म
महर्जनले २०५८ सालदेखि लगातार १० वर्ष नेपाल तरुण दलको केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए। २०६६ सालमा उनी राष्ट्रिय परिषद्को कोषाध्यक्ष बनेका थिए। नेपाली कांग्रेसको ११औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि रहेका महर्जन त्यसपछिका १२औँ, १३औँ र १४औँ महाधिवेशनमा महासमिति सदस्य बने। पार्टीको तल्लो तहदेखि केन्द्रीय संगठनसम्मको लामो अनुभव बोकेका महर्जन अहिले केन्द्रीय सदस्यका रूपमा नेतृत्व तहमा पुग्ने तयारीमा छन्।

खेलकुदसँगै राजनीतिक पहिचान
अन्तर्राष्ट्रिय कराते खेलाडी तथा अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहेका महर्जनको सार्वजनिक पहिचान खेलकुद क्षेत्रसँग पनि जोडिएको छ। बागमती प्रदेशको युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हाल्दा उनले प्रदेशमा खेलकुद गतिविधिको विस्तार तथा खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताइन्छ। खेलकुदबाट सुरु भएको उनको सार्वजनिक यात्रा युवा नेतृत्व हुँदै पार्टी संगठन र राजनीतिक जिम्मेवारीसम्म पुगेको छ। यही कारण महर्जनको राजनीतिक पहिचान खेलाडी, युवा नेतृत्व र कांग्रेस संगठनसँग एकसाथ जोडिएको देखिन्छ।

विकास र सामाजिक गतिविधिमा सक्रियता
राजनीतिक तथा संगठनात्मक गतिविधिसँगै महर्जन ललितपुरमा विकास निर्माण र सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्। स्थानीयस्तरका विकासका विषय तथा सामाजिक कार्यमा उनको संलग्नतालाई उनका समर्थकहरूले उनको राजनीतिक यात्राको अर्को पक्षका रूपमा प्रस्तुत गर्दै आएका छन्।

करिब चार दशक लामो राजनीतिक यात्रामा आन्दोलन, युवा परिचालन, तरुण दल, पार्टी संगठन, खेलकुद क्षेत्र र जनप्रतिनिधिको भूमिकासम्मको अनुभव हासिल गरेका महर्जनले अब कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका खोजिरहेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा महर्जनको केन्द्रीय सदस्य पदमा उम्मेदवारीको तयारीले लामो समयदेखि संगठनमा सक्रिय रहेका नेताहरूको नेतृत्व तहमा प्रतिनिधित्वको बहसलाई समेत अगाडि ल्याएको छ।