मकवानपुर – नेपाली कांग्रेस मकवानपुर क्षेत्र नं. १ बाट १८ वर्षीया अभिप्सा पौडेल केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्।
क्षेत्रीय प्रतिनिधिहरूबाट प्राप्त विश्वासप्रति आभार व्यक्त गर्दै पौडेलले आफ्नो महाधिवेशन प्रतिनिधिको जिम्मेवारीलाई व्यक्तिगत जितभन्दा पनि कांग्रेसमा नयाँ पुस्ताको प्रवेश र राजनीतिक पुस्तान्तरणको सुरुवातका रूपमा लिएकी छन्।
कांग्रेसको राजनीति र सिद्धान्तमा परिवारका अग्रजहरूले लामो समयदेखि योगदान दिँदै आएको उल्लेख गर्दै उनले आफू पनि त्यही राजनीतिक संस्कार र संघर्षबाट हुर्किएको बताएकी छन्। पौडेलले आफ्नी आमाको निधन भइसकेकाले राजनीतिक यात्राको यो महत्वपूर्ण क्षणमा आमाको विशेष सम्झना आएको बताएकी छन्। आमाबाट प्राप्त संस्कार, साहस र समाजप्रतिको जिम्मेवारीलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउने उनको भनाइ छ। साथै, आफ्नो हरेक पाइला र निर्णयमा साथ, हौसला र विश्वास दिने बाबाप्रति उनले विशेष कृतज्ञता व्यक्त गरेकी छन्।
उनले आफूलाई राजनीतिक यात्रामा मार्गदर्शन गर्ने पार्टीका अग्रज, राजनीतिक गुरु, शुभेच्छुक, साथीहरू तथा सम्पूर्ण कांग्रेसजनप्रति धन्यवाद व्यक्त गरेकी छन्। कांग्रेस आफ्नो लागि केवल राजनीतिक दल नभई विचार, सिद्धान्त, इतिहास र पुस्तौँको संघर्षसँग जोडिएको घर भएको बताउँदै पौडेलले बीपी कोइरालाले अघि सारेको राष्ट्रियता, लोकतन्त्र, समाजवाद र सामाजिक न्यायको बाटोलाई आत्मसात् गर्दै युवाको ऊर्जा र महिलाको नेतृत्वलाई बलियो बनाउने प्रतिबद्धता जनाएकी छन्।
मकवानपुरको विकास, समृद्धि र हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले प्राप्त जिम्मेवारीलाई पदका रूपमा नभई जिम्मेवारीका रूपमा ग्रहण गरेर अघि बढ्ने बताएकी छन्।
पौडेलले अबको आफ्नो राजनीतिक यात्रा नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनतर्फ केन्द्रित हुने बताएकी छन्।
















