काठमाडौं – नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले बर्तमान सरकारको ६ महिनामा ’फासीवादी’ प्रवृत्ति देखिएको भन्दै आलोचना गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा नेता थापाले वर्तमान सरकारको ६ महिना पूर्वप्रधानमन्त्रीको गैरकानुनी गिरफ्तारीबाट सुरु भई पूर्वप्रधानन्यायाधीशको नाटक मञ्चनसम्म पुगेको टिप्पणी गरे । फासीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्कन, संसद् तथा जनताप्रति उत्तरदायी बन्न र लोकतन्त्रको पूर्ण पुनर्वहाली गर्न सरकारलाई उनले सुझाव दिए ।
सुशासन र सम्पत्ति छानबिनको लोकप्रिय आवरणमा देशभक्त शक्ति, मिडियाकर्मी, नागरिक अभियान्ता र व्यवसायीहरूलाई निसाना बनाइएको उनले बताए । उनले पछिल्लो ६ महिनामा संसद समेत सत्ता पक्ष सरकारको छायाँ मात्र साबित भएको, विधेयकहरू संख्या र शक्ति अनुसार एकपक्षीय ढङ्गले पारित गरिएको र प्रतिपक्षलाई पूरक नभई बाधक ठानिएको आरोप लगाए ।
उनले सभामुखले राजनीतिक सहमतिका लागि अगुवाइ नगरेको र सत्ता पक्षको ढ्यापढ्यापे शैली कायम रहेको धारणा राखे । थापाले भदौ १० गतेको महाविपद्मा सरकारको उद्धार तथा राहत कार्य सन्तोषजनक नरहेको, अहंकारवश विदेशी सहायता लिन ढिलाइ गरिएको र आत्मप्रचार बढी देखिएको आरोप लगाए ।
















