काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोशाक खरिदका बिषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रास्वपा सांसद मनिष झाको संयोजकत्वमा ९ सदस्यीय अध्ययन उपसमिति गठन गरेको हो । उपसमितिमा सांसदहरु सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही रहरेका छन् । उपसमितिलाई निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमिता भएको भन्नेबारे परेको उजुरीको अध्ययन गरि प्रतिवेदन पेश गर्न भनिएको छ । समिति सभापति भरत बहादुर खड्काले उजुरीको अध्ययनका सम्बन्धमा आएका सुझावहरुलाई समितिले ग्रहण गरेर अघि बढ््ने बताए ।

बैठकमा रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरीमा भएको भनिएको अनियमितामा आफुले निरन्तर आवाज उठाइरहेकाले आफुलाई संयोजक बनाउन प्रस्ताव गरेको थियो । आफुलाई बाहिर राखेर उपसमिति गठनको औचित्य नहुने उनले बताए ।

बैठकमा अन्य दलका केहि सांसदहरुले सांसद सुनारको भूमिका उजुरीकर्ताको जस्तो देखिएकाले समितिमा राख्न नहुने धारणा राखेका थिए । त्यसपछि सवैको सहमतिमा सुनारलाई पनि उपसमिति सदस्यमा राखिएको थियो । सार्वजनिक लेखा समितिमा निर्वाचन प्रहरीको पोशाक खरिद गर्दा ६० करोड भन्दा बढि अनियमितता भएको उजुरी परेको थियो ।