काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र–मैत्री भएको दावी गरेका छन् ।
पूर्वाधार बिकास मन्त्रालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन तयारी सम्बन्धी कार्यक्रममा मन्त्री वाग्लेले मुलुकको आर्थिक बिकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले निजी क्षेत्रलाई सहज रुपमा काम गर्ने वातावरण बनाउदै सरकार अघि बढिरहेको समेत बताए । आगामी १० वर्षसम्म दिगो रूपमा औसत ७ प्रतिशतको वास्तविक आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको उनले बताए ।
यो लक्ष्य कुनै हावादारी नभई विश्वयुद्धपछिका १३ देखि १५ वटा मुलुकहरूको विकास अनुभव र इतिहासमा आधारित रहेको मन्त्री वाग्लेले बताए । उनले विकास र आर्थिक फड्कोका लागि कानुन निर्माण तथा सुधार प्रारम्भिक प्रस्थान बिन्दु भएकाले व्यवसायी तथा विकास निर्माणमा देखिएका गाँठाहरू फुकाउन कानुनले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
विगतको साढे तीन वर्षको संसदीय कार्यकालमा जम्मा ३५ वटा विधेयक पारित भएको तुलना गर्दै उनले अहिले कानुन निर्माण र सुधारको गतिलाई तीव्र बनाइएको उल्लेख गरे । साथै उनले आगामी २–३ वर्षभित्रै आर्थिक र पूर्वाधारका क्षेत्रमा सार्थक नतिजा देखिने गरी काम अगाडि बढाउने धारणा राखे ।
















