ललितपुर । महालक्ष्मी नगरपालिका–७ चाँगाथलीस्थित चाँगाथली चिल्ड्रेन पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। महालक्ष्मी नगरपालिका वडा नम्बर ७ र सिर्जनशील सेवा प्रा.लि.को आयोजनामा भएको कार्यक्रममा चिल्ड्रेन पार्क परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो। पार्कलाई हरियाली, स्वच्छ र आकर्षक बनाउँदै बालबालिका तथा स्थानीय नागरिकका लागि थप व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास गर्ने उद्देश्यले वृक्षारोपण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा महालक्ष्मी नगरपालिका–५ का वडा अध्यक्ष कपिल केसी, वडा नम्बर ७ का वडा अध्यक्ष बाबुराजा महर्जन, वडा सदस्य विराट सिलवाल लगायत जनप्रतिनिधि, सरोकारवाला, नागरिक समाजका प्रतिनिधि, बुद्धिजीवी तथा स्थानीय नागरिकको बाक्लो उपस्थिति थियो। कार्यक्रमका क्रममा वडा अध्यक्ष बाबुराजा महर्जनले सार्वजनिक स्थलको संरक्षण र हरियाली प्रवर्द्धनमा स्थानीय समुदायको सहभागिता महत्वपूर्ण हुने बताए।
उनले चाँगाथली चिल्ड्रेन पार्कलाई थप व्यवस्थित र वातावरणमैत्री बनाउँदै लैजान वडा तहबाट आवश्यक सहकार्य र पहल गरिने बताए। वृक्षारोपणसँगै पार्क तथा सार्वजनिक क्षेत्रको संरक्षण, वातावरणीय स्वच्छता र हरियाली प्रवर्द्धनमा स्थानीय बासिन्दालाई जोड्ने प्रयाससमेत गरिएको आयोजकले जनाएको छ। वृक्षारोपण कार्यक्रममा जनप्रतिनिधि, स्थानीय नागरिक र विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिताले सार्वजनिक सम्पत्तिको संरक्षण तथा वातावरण सुधारमा सामूहिक पहलको आवश्यकता देखाएको छ।
















