काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमर नोट छपाईमा भ्रष्टाचार गरेको भन्दै पूर्व गर्भनर तिलक रावलसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
बिहीबार अख्तियारले विशेष अदालतमा आयोगले रावल, राष्ट्र बैंकमा तत्कालिन नोट विभागका प्रमुख उपेन्द्र केशरी पौडेल र स्थानीय प्रतिनिधि हिमालय बहादुर पाँडेविरुद्ध मुद्दा दायर गरेको हो ।
तीनै जनाविरुद्ध प्रतिव्यक्ति करिब ९१ लाख बिगो दाबी गरिएको छ । रावल गर्भनर भएको बेला राष्ट्र बैंकले अस्ट्रेलियामा १० रुपैयाँ दरका ५ करोड थान प्लास्टिक (पोलिमर) नोट छपाइ गर्दा अस्ट्रेलियाको स्थानीय एजेन्टमार्फत् आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको, नोट प्रिन्टिङ मुलुक अस्ट्रेलियासँग गैरकानुनी मिलेमतो गरी आर्थिक लेनदेन गरेको आरोप लागेको छ ।
अनुसन्धान हुँदा बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाइ हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधी बिचका निरन्तर पत्राचार हुने, छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागि मिडियाकर्मीलाई थाइल्याण्ड हुदै अष्ट्रेलिया पठाउने, नोट छपाईका लागि जसलाई पछि कार्यादेश दिइएको हो उसलाई नै बोलपत्र पूर्व नै नोटको डिजाईन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगर्नेसम्झौता गरेको पुष्टि भएको आयोगले दाबी गरेको छ ।
प्लास्टिक नोट छपाउने बेला रावल राष्ट्र बैंकका ११औं गभर्नर थिए । नोट छपाइ प्रकरण सार्वजनिक भएपछि रावल बर्खास्त भएका थिए । उनीपछि दीपेन्द्रपुरुष ढकाल गभर्नर बनेका थिए भने एक वर्षपछि पुनः रावल पुनर्बहाली भएका थिए ।