काठमाडौँ– विवेकशील साझा पार्टीले छापामार शैलीमा पार्टी फुटाइएको आरोप लगाएको छ । मंगलबार पार्टी कार्यालयमा केन्द्रीय समितिको निर्णय सुनाउन


ADVERTISEMENT


आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सूर्यराज आचार्यले संयोजकसमेत रहेका उज्वल थापाले समस्या समाधा गर्नका लागि छलफल बोलाइएपनि छापामार शैलीमा पार्टी छाडेर गएकोमा दुःखेसो पोखे । ‘मतभेद हुनसक्छन्, पार्टी केन्द्रीय समितिको बैठक आह्वान भएकै थियो, केन्द्रीय समितिको बैठकमा उहाँहरूका फरक मत, असहमतिलाई अजेण्डा बनाइएकै थियो ।’ उनले भने, ‘तर अचानक छापामार शैलीमा पार्टी फुटाइयो ।’


ADVERTISEMENT

# # #


यस्तै उनले एजेन्डा मिलेको खण्डमा अन्य पार्टीसंग एकताको लागि ढोका खुला रहेको उल्लेख गरे । उनले भने, ‘पार्टी एकता गर्न उदार र खुला छौं,’ आचार्यले भने, ‘पार्टी ठूलो बनाउनेतर्फ मात्रै हाम्रो ध्यान छैन, वैकल्पिक राजनीतितर्फ प्रतिवद्ध छौं।’ बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकताबारे सोधिएको प्रश्नमा आचार्यले एजेन्डा मिले एकताको बाटो खुला रहेको बताए। तर एकता हुने दलको ऐतिहासिक पृष्ठभूमिबारे विवेकशील साझा सतर्क रहेको उनको भनाइ छ।

मतभेद रहे पनि आफूहरू सच्चिन प्रतिवद्ध रहेको बताउँदै उनले पुराना पार्टीजस्तो गणितलाई आधार बनाएर कसैलाई किनारामा धकेल्ने र पेल्ने पक्षमा विवेकशील साझा नभएको जिकिर गरे । प्रदेश ३ मा रहेका तीन सांसदमध्ये विवेकशील साझामा एक जना छन्। केन्द्रीय समिति विस्तार गरेर अंकगणितीय खेल नखेलेको दाबी उनले गरे।

२०७६ फागुनमा पहिलो महाधिवेशन

विवेकशील साझा पार्टीले २०७६ साल फागुन १५ देखि १९ गतेसम्म काठमाडौँमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ । सो पार्टीले विदेशमा रहेका सबै नेपालीलाई राष्ट्रिय निर्वाचनमा मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयनमा ल्याउन दबाबका कार्यक्रम सञ्चालन गरिने निर्णय गरेको छ ।

बैठकले प्रदेश नं १ को संयोजकमा अनिल भेटवाललाई चयन गरेको छ । साथै अघिल्लो निर्णयअनुसार सुदूरपश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश नं ५ बाट सरस्वती पन्थी भुसाल र गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारीलाई केन्द्रीय समितिमा सामेल गरिएको छ ।

‘विवेकशील साझा युवा सङ्गठन’ र ‘विवेकशील साझा महिला सङ्गठन’ गठन गरी दुवै सङ्गठनको संयोजकमा क्रमशः अब्दुस मियाँ र सोभिता परियारलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

पार्टीमा देखापरेका पछिल्ला चुनौती र आउँदा दिनमा लिनुपर्ने बाटोबारे यही माघ १२ गते काठमाडौँमा देशभरीका पार्टी प्रतिनिधि सदस्यसहित ‘विवेकशील साझा राष्ट्रिय सन्देश भेला’को आयोजना गर्ने निर्णय गरेको प्रवक्ता आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।