काठमाडौं – सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आइतबार तान्जानिया प्रस्थान गर्दैछन् ।
असोज १९ देखि २३ गतेसम्म तान्जानियाको अरुशामा हुने महासभामा सभामुख अर्यालले नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । उनी कतार एयरवेजको क्यूआर ६४५ उडानमार्फत दोहा हुँदै तान्जानिया जाने कार्यक्रम रहेको छ ।
महासभामा सभामुख अर्यालले ‘समावेशीता, विश्वास र अवसरमार्फत सुशासन अभिवृद्धि तथा समुदाय सशक्तीकरण’ विषयक जेनरल डिबेटमा सम्बोधन गर्नेछन् । त्यस्तै, ‘हिमालयन क्षेत्र तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जलवायुजन्य विपद्को सामना र उत्थानशीलता सुदृढ गरौँ’ भन्ने विषयलाई अर्जेन्ट पार्लियामेन्ट्री एक्सनका रूपमा प्रस्ताव गर्ने नेपालको तयारी छ ।
नेपाली प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सांसद रविन महतो, राष्ट्रिय सभाका सदस्य झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्यसहित संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी, सहसचिव रेखा उपाध्याय खनाल र सभामुखका निजी सचिव मधु मिजार सहभागी हुनेछन् ।
महासभाअन्तर्गत विभिन्न संसदीय फोरम तथा बैठकमा नेपाली सांसदहरूले सहभागिता जनाउनेछन् । साथै, सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलसँग द्विपक्षीय तथा साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।
आईपीयू महासभा सकेपछि सभामुख अर्याल नेतृत्वको टोली केन्या जानेछ । केन्याका सभामुख डा. मोसेस एम. वेताङउलाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलले त्यहाँको संसद्को औपचारिक भ्रमण गर्नेछ ।
प्रतिनिधिमण्डल असोज २७ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
















