काठमाडा – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले डिजिटल युगमा समाचार छिटो सम्प्रेषण गर्नेभन्दा पनि सत्य, तथ्यपरक र विश्वसनीय समाचार दिने संस्कार विकास गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय अनलाइन पत्रकार संघद्वारा आईतबार आयोजित अवार्ड समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने क्रममा अध्यक्ष अग्रवालले सो धारणा राखेका हुन । अनलाइन पत्रकारिता नागरिकलाई सुसूचित गर्ने, लोकतन्त्रलाई बलियो बनाउने र सरकारलाई जवाफदेही बनाउने महत्वपूर्ण माध्यम बनेको उनले बताए ।
उनले पत्रकारिताको वास्तविक शक्ति सत्य, विश्वसनीयता, निष्पक्षता र जनउत्तरदायित्वमा निहित रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना, क्लिक र भ्युजका लागि हुने अस्वस्थ प्रतिस्पर्धा तथा पत्रकारको आर्थिक र व्यावसायिक असुरक्षाले पत्रकारिताको विश्वसनीयतामा चुनौती थपेको बताए ।
अध्यक्ष अग्रवालले कृत्रिम बुद्धिमत्ता (एआई) ले समाचार सङ्कलन, विश्लेषण र सम्प्रेषणलाई सहज बनाउन सक्ने भए पनि यसले पत्रकारको विवेक, नैतिकता र मानवीय संवेदनशीलतालाई प्रतिस्थापन गर्न नसक्ने धारणा राखे। प्रविधिको प्रयोगसँगै तथ्य जाँच, डिजिटल साक्षरता र व्यावसायिक आचारसंहितालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
आर्थिक विकासमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अग्रवालले लगानी प्रवद्र्धन, उद्यमशीलता, रोजगारी सिर्जना र निजी क्षेत्रको मनोबल अभिवृद्धिका लागि सञ्चार क्षेत्र र निजी क्षेत्रबीच रचनात्मक सहकार्य आवश्यक रहेको बताए ।
“जिम्मेवार पत्रकारिता र उत्तरदायी निजी क्षेत्र एकअर्काका प्रतिस्पर्धी होइनन्, सुशासन र समृद्धिका सहयात्री हुन्,” उनले भने । उनले उद्योग, व्यापार, पर्यटन, कृषि, ऊर्जा, सूचना प्रविधि तथा साना तथा मझौला उद्यमका समस्या, सम्भावना, नवप्रवर्तन र सफलताका कथालाई सञ्चारमाध्यमले तथ्यपरक रूपमा उजागर गर्नुपर्ने बताए। साथै निजी क्षेत्रका कमजोरी, अनियमितता तथा उपभोक्तासँग सम्बन्धित विषयमा पनि सञ्चारमाध्यमले निष्पक्ष निगरानी गर्नुपर्नेमा उनले जोड दिए ।
पत्रकारको व्यावसायिक सुरक्षा र सम्मानजनक कार्य वातावरण आवश्यक रहेको बताउँदै अध्यक्ष अग्रवालले पत्रकारले डर, दबाब वा प्रलोभनबिना आफ्नो जिम्मेवारी निर्वाह गर्न पाउनुपर्ने बताए । सञ्चार संस्थाहरूले पत्रकारलाई उचित पारिश्रमिक, सामाजिक सुरक्षा तथा क्षमता विकासका अवसर उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।
अग्रवालले व्यावसायिक पत्रकारिताको प्रवद्र्धन, एआई तथा डेटा पत्रकारितासहित डिजिटल क्षमता अभिवृद्धि, अनलाइन सञ्चारमाध्यमको आर्थिक दिगोपन, पत्रकारको हकहित संरक्षण, समाधानमुखी पत्रकारिता तथा निजी क्षेत्रसँग सहकार्य विस्तार आजको आवश्यकता रहेको औल्याए । “समाचार छिटो मात्र होइन, सत्य हुनुपर्छ; विचार स्वतन्त्र मात्र होइन, जिम्मेवार पनि हुनुपर्छ र प्रविधि आधुनिक मात्र होइन, मानवता र नैतिकताप्रति संवेदनशील पनि हुनुपर्छ,” अध्यक्ष अग्रवालले भने ।
















