काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय पदाधिकारी तथा सदस्यका आकांक्षीहरू उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। यही क्रममा डा. भद्रा पराजुली भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेकी छन्।

भण्डारीले आफ्नो उम्मेदवारीलाई कांग्रेसको संगठनात्मक सुधार, वैचारिक स्पष्टता र समयअनुकूल पार्टी निर्माणको एजेन्डासँग जोडेर अघि सारेकी छन्। परम्परागत राजनीतिक अभ्यासभन्दा पार्टीलाई आधुनिक, जनउत्तरदायी र नीतिमुखी बनाउने बहसलाई उनले प्राथमिकतामा राख्दै आएकी छन्।

कांग्रेसभित्र महिला सहभागितालाई संख्यात्मक प्रतिनिधित्वमा मात्र सीमित नराखी नीति निर्माण र नेतृत्वदायी भूमिकासँग जोड्नुपर्ने धारणा राख्दै आएकी भण्डारीले आफ्नो उम्मेदवारी पनि यही दृष्टिकोणबाट अघि सारेकी हुन्।

पार्टीको विशेष महाधिवेशनमा सक्रिय भूमिका निर्वाह गरेकी भण्डारीले कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण विभागमा रहेरसमेत काम गरिसकेकी छन्। उक्त भूमिकामा रहँदा पार्टीका नीति, समसामयिक राजनीतिक विषय तथा नयाँ विचारलाई कार्यकर्तामाझ पुर्‍याउने काममा उनी संलग्न थिइन्।

बागमती प्रदेश कार्यसमितिमा रहेर काम गरिसकेकी भण्डारी पार्टी संगठनसँगै समसामयिक राजनीति, कांग्रेसका चुनौती र महिला नेतृत्वका विषयमा लेखन तथा विश्लेषणमा पनि सक्रिय रहँदै आएकी छन्।

भण्डारी लामो समयदेखि गगन थापासँग निकट वैचारिक धारमा रहेर कांग्रेस राजनीतिमा सक्रिय छिन्। उनले थापाले अघि सारेको ‘नवीन कांग्रेस’को अवधारणालाई संस्थागत गर्न केन्द्रीय समितिमा ऊर्जाशील तथा वैचारिक नेतृत्व आवश्यक रहेको बताउँदै आएकी छन्।

“१५औँ महाधिवेशन कांग्रेसका लागि केवल नेतृत्व चुन्ने कर्मकाण्ड होइन, यो त पार्टीको भविष्य र रूपान्तरणको दिशा तय गर्ने ऐतिहासिक अवसर हो,” भण्डारीले भनेकी छन्।

भण्डारीको उम्मेदवारीले विशेषगरी पार्टी रूपान्तरण, वैचारिक बहस र महिला नेतृत्वको विषयलाई थप चर्चामा ल्याएको छ।