काठमाडौँ – नेपाल पत्रकार महासंघले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघको जेठ २७ गते उपलब्ध केन्द्रीय समितिको बैठकले दोस्रो चरणको आन्दोलनको समीक्षा गरी तेस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरेको हो ।


ADVERTISEMENT


महासंघले बैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा गरिएको आन्दोलन पूर्णंरुपमा सफल भएको निष्कर्ष निकालेको छ । महासंघले मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन सरकारसंग पुनःजोडदार माग गरेको छ ।


ADVERTISEMENT

# # #


नेपाली प्रेस जगतका जायज मागहरु अघि सारेर आन्दोलित नेपाल पत्रकार महासंघ र समग्र सञ्चार क्षेत्रप्रति सरकारले उपेक्षा गरेकोमा बैठकले दुःख प्रकट गरेको छ । विशुद्ध पेशागत स्वतन्त्रताको माग राखेर गरिएको आन्दोलनलाई सरकारले राजनीतिक रङ दिनु र विदेशी दातृ संस्थासंग जोडेर लाञ्छित गर्नु आपत्तिजनक रहेको महासंघको ठहर छ ।

महासंघले आफु कुनै पनि पक्षको अभिष्ट पूरा गर्ने आन्दोलनको पक्षमा नभएको र संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढ रहेको स्पष्ट पारेको छ । मिडिया काउन्सिल विधेयक नेपालको संविधानले ग्यारेन्टी गरेको प्रेस स्वतन्त्रता र यसको विश्वव्यापी मान्यताविपरित हुनेगरी ल्याइएकोले फिर्ता लिई सरोकारवालाहरुसंग छलफल गरी समस्याको समाधान गर्नुको विकल्प नरहेको महासंघको ठहर छ । प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता नभएसम्म थप शसक्त आन्दोलन जारी राख्ने निर्णय महासंघले गरेको छ ।

साथै महासंघले तेस्रो चरणको आन्दोलनमा सक्रिय सहभागिता जनाउन सञ्चारकर्मी लगायत सम्पूर्ण सञ्चार सम्बद्धलाईआह्वान गरेको छ ।

यस्ता छन् महासंघको तेस्रो चरणको आन्दोलनका कार्यक्रम

असार ३ गते : प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान ।
असार ६ गते : संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने ।
असार १० गते : मिडिया काउन्सिल विधयक विरुद्ध कार्टुन प्रर्दशनी ।
असार १५ गते : सबै जिल्ला शाखाहरुले आफ्नो क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसदहरुलाई एसएमएस मार्फत् सन्देश पठाएर ध्यानाकर्षण गर्ने ।
असार २० गते : बृहत् ‘प्रेस स्वतन्त्रतासभा’को आयोजना गर्ने ।
असार २५ गते :  मध्यान्ह १२ः०० बजे लालटिन जुलुस ।
असार ३० गते : देशव्यापी सिटी जुलुस र सभा ।