काठमाडौं – नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै गणेश लामाले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
लामाले नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ, गतिशील र समयानुकूल बनाउँदै पार्टीलाई बलियो बनाउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी अघि सारेका हुन्। उनको उम्मेदवारी घोषणामा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने मूल सन्देशलाई प्राथमिकता दिइएको छ।
नेपाली कांग्रेसको ऐतिहासिक मूल्य, मान्यता र लोकतान्त्रिक संस्कारलाई संरक्षण गर्दै बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै लामाले आफ्नो उम्मेदवारी अघि सारेका हुन्।
उनले कांग्रेसलाई केवल इतिहास बोकेको पार्टीका रूपमा नभई समुन्नत नेपाल निर्माणको नेतृत्व गर्न सक्ने थप सबल, संगठित र जनमुखी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने संकल्पसहित आफ्नो अभियान अघि बढाएका छन्।
१५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आगामी दिशा, संगठन सुदृढीकरण र नयाँ राजनीतिक प्राथमिकताबारे बहस भइरहेका बेला लामाको केन्द्रीय सदस्य पदको उम्मेदवारीलाई पनि कांग्रेसभित्रको नयाँ नेतृत्व निर्माणको अभियानसँग जोडेर हेरिएको छ।
















