काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनिको युवा समूहबाट यजस्वी राईले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
सभापति, युथ कांग्रेस नेपाल तथा काठमाडौं–१ की महाधिवेशन प्रतिनिधिसमेत रहेकी राईले आफ्नो राजनीतिक यात्रा र नेतृत्व अनुभवलाई नयाँ समयको आवश्यकता तथा युवा पुस्ताको अपेक्षासँग जोड्दै थप जिम्मेवारीका लागि अघि बढ्ने निर्णय गरेको बताएकी छन्।
उम्मेदवारी घोषणा गर्दै राईले नेपाली कांग्रेसलाई नयाँ पुस्ताको भावना, आवश्यकता र अपेक्षासँग जोड्दै थप गतिशील बनाउन आफ्नो भूमिका रहने बताएकी छन्। उनले लोकतान्त्रिक मूल्यको संरक्षण, पार्टी संगठनको सुदृढीकरण, पुस्तान्तरण तथा राजनीतिमा युवाको सार्थक सहभागितालाई आफ्नो प्राथमिकताका रूपमा अघि सारेकी छन्।
राईले कांग्रेसलाई समयसापेक्ष, समावेशी र गतिशील संगठनका रूपमा अघि बढाउन युवाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेकी छन्। लामो समयदेखि युवा सहभागिता र संगठन निर्माणसँग जोडिँदै आएकी उनले अब पार्टीको केन्द्रीय तहमा रहेर थप जिम्मेवारी निर्वाह गर्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेकी हुन्। उनले आफ्नो उम्मेदवारी व्यक्तिगत आकांक्षाभन्दा पनि युवा पुस्ताको आवाजलाई पार्टीको निर्णय प्रक्रियासम्म पुर्याउने प्रयासका रूपमा अघि बढाएको बताएकी छन्।
“आजसम्मको राजनीतिक यात्रा र नेतृत्व अनुभवलाई नयाँ समयको आवश्यकता, युवा पुस्ताको अपेक्षा र नेपाली कांग्रेसको सुदृढ भविष्यसँग जोड्दै थप जिम्मेवारीका लागि अघि बढ्ने निर्णय गरेकी छु,” राईले भनेकी छन्।
उनले कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्दै पार्टीका नेता, कार्यकर्ता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकबाट साथ, समर्थन, सुझाव र शुभेच्छाको अपेक्षा गरेकी छन्।
युवा पुस्ताको सहभागिता, पुस्तान्तरण र संगठन सुदृढीकरणलाई आफ्नो उम्मेदवारीको मुख्य आधार बनाएकी राईको उम्मेदवारीसँगै कांग्रेसको केन्द्रीय नेतृत्वमा युवा प्रतिनिधित्वको बहस पनि थप चर्चामा आएको छ।
















