काठमाडौं – समान कामको समान पारिश्रमिक, श्रमको सम्मान तथा कार्यदलको प्रतिवेदन कार्यान्वयनको माग गर्दै इन्टर्न चिकित्सक डिल्ली हरिजन माइतीघर मण्डलामा आमरण अनशनमा बसेका छन्।
आफ्ना माग सम्बोधनका लागि विगत चार महिनादेखि सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग (MEC), सांसद तथा सरोकारवाला निकायसँग पटक–पटक संवाद र छलफल गरे पनि ठोस निर्णय नभएपछि आमरण अनशन बस्न बाध्य भएको उनले बताएका छन्।
उनका अनुसार शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा गठित कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार आवश्यक निर्णय हुन सकेको छैन। करिब १२० दिनभन्दा बढी समयसम्म निरन्तर संवाद र प्रतीक्षा गर्दा पनि माग सम्बोधन नभएपछि आन्दोलनमा उत्रिनुपरेको उनको भनाइ छ।
उनले भनेका छन् ‘हामीले कुनै अतिरिक्त सुविधा मागेका छैनौँ। हाम्रो माग समान कामको समान पारिश्रमिक, श्रमको सम्मान र कार्यदलको प्रतिवेदन कार्यान्वयन हो,।
उनले राज्यले नागरिकको अधिकार र श्रमको सम्मानका लागि समयमै निर्णय गर्नुपर्ने भन्दै कार्यदलको प्रतिवेदनअनुसार तत्काल निर्णय गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।
आन्दोलनरत चिकित्सकले वरिष्ठ चिकित्सक, नेपाल मेडिकल एसोसिएसन (NMA), नेपाल मेडिकल काउन्सिल (NMC), MBBS तथा BDS इन्टर्न, मेडिकल विद्यार्थी, सञ्चारमाध्यम तथा न्यायप्रेमी नागरिकलाई आन्दोलनमा नैतिक समर्थन र ऐक्यबद्धताका लागि आग्रह गरेका छन्।
















