काठमाडौँ, फागुन १७। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चिनियाँ राजदूत यु होङ र नेपालका लागि भारतीय राजदूत रणजित रायले आज बिहान भेट गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुवै भेटमा द्विपक्षीय हित र आपसी चासोका विषयमा वार्ता भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले राजदूत युसँगको भेटमा नेपाल र चीनबीच सम्पर्क विस्तार, पूर्वाधार विकास र पूर्व सम्झौताको कार्यान्वयन प्रभावकारी रुपमा अगाडि बढिरहेको बताए ।


ADVERTISEMENT

# # #


सरकार स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनलाई मूर्त रुप दिने प्रक्रियामा रहेको र यसमा चीनको सकारात्मक सहयोग रहने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरेका थिए । उनले ‘वान बेल्ट वान रोड’ अन्तर्गत विकासका कार्यक्रम अगाडि बढ्ने विश्वाससमेत व्यक्त गरे ।

भेटमा चिनियाँ राजदूत होङले नेपालको राजनीतिक र संविधान कार्यान्वयनको प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको र यसमा चीनको सदैव सद्भाव रहने बताइन् । उनले नेपालको पूर्वाधार विकास सकारात्मक रुपमा अगाडि बढिरहेको र आगामी दिनमा थप गति लिने विश्वास पनि व्यक्त गरेकी थिईन् ।
यसैगरी प्रधानमन्त्रीसँग नेपालका लागि भारतीय राजदूत रायले आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका अवसरमा प्रधानमन्त्रीसँग औपचारिक बिदाइ भेट गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्रीले राजदूत रायको कार्यकाल प्रभावकारी र सन्तुलित रहेकामा धन्यवाद दिँदै नेपाल र भारतबीचको सम्बन्ध थप गाढा र घनिष्ठ बन्ने विश्वास व्यक्त गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले रायको कार्यकालमा नेपालमा सञ्चालित विकास आयोजनाको कार्यान्वयनले गति लिएको, द्विदेशीय अनुगमन संयन्त्रको कार्यसम्पादनमा प्रभावकारिता रहेको र दुई देशबीच उच्चस्तरीय भ्रमण भएको उल्लेख गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

भेटमा राजदूत रायले आफ्नो कार्यकालमा नेपाल सरकार र नेपाली जनताबाट सकारात्मक सहयोग पाएकामा खुसी व्यक्त गर्दै त्यसका लागि नेपाललाई धन्यवाद दिएका थिए ।