संखुवासभा – कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण तथा अनुगमन गर्दै प्रहरी सेवालाई थप नागरिकमैत्री, प्रभावकारी र उत्तरदायी बनाउन निर्देशन दिइएका छन् ।
आइतबार भएको निरीक्षणका क्रममा डीआईजी खनालले कार्यालयका विभिन्न शाखा, हिरासत कक्ष तथा सेवा प्रवाहको अवस्थाको अनुगमन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका हुन् । उनले दुर्गम गाउँबस्तीमा रहेका नागरिकसम्म सहज र सुलभ रूपमा प्रहरी सेवा पुर्याउन, नियमित गस्ती सञ्चालन गरी जनगुनासा सुनुवाइ गर्न तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जोड दिए।
नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै उनले आवश्यकताअनुसार प्रहरी जनशक्ति परिचालन गर्न, बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गर्न तथा बढी भीडभाड हुने क्षेत्रहरूमा प्रहरीको उपस्थिति बढाउन निर्देशन दिए। साथै फरार प्रतिवादी पक्राउ, पेन्डिङ मुद्दा फर्छ्योट तथा लागूऔषधको प्रयोग र ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
डीआईजी खनालले प्रहरी कर्मचारीलाई अनुशासित, सेवामुखी र व्यावसायिक आचरणसहित कार्य गर्न आग्रह गर्दै पारदर्शी सेवा प्रवाहमार्फत प्रहरी संगठनप्रतिको जनविश्वास कायम राख्नुपर्ने उल्लेख गरे।
निरीक्षण भ्रमणकै क्रममा उहाँले स्थानीयवासी, नागरिक समाजका प्रतिनिधि तथा पूर्व प्रहरी कर्मचारीसँग छुट्टाछुट्टै अन्तरक्रिया गरिएको थियो। अन्तरक्रियामा स्थानीयले शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण तथा प्रहरी सेवाको प्रभावकारिताबारे सुझाव दिएका थिए।
प्रदेश प्रहरी प्रमुख खनालले प्रहरी र समुदायबीचको सम्बन्धलाई थप विश्वासिलो र सहकार्यात्मक बनाउन यस्ता भेटघाट महत्वपूर्ण हुने बताउँदै नागरिकका समस्या र अपेक्षालाई प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे।
पूर्व प्रहरी कर्मचारीसँगको भेटमा उनले राष्ट्र र समाजको सुरक्षामा उनीहरूले पुर्याएको योगदानको प्रशंसा गर्दै अनुभव र सुझावलाई प्रहरी संगठनको हितमा उपयोग गरिने बताए। साथै पूर्व प्रहरी र बहालवाला प्रहरीबीचको सहकार्यले अपराध नियन्त्रण तथा सुरक्षा व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

















