• रवीन्द्र मिश्र

हाम्रो जुन किसिमको संस्कार थियो, जुन किसिमको समाज र जुन किसिमको देश थियो, हामी जस्तो खालका जनता थियौं, योभन्दा धेरै स्वस्थ्य देश र समाज हुनुपथ्र्यो । तर दुर्भाग्यवश मूलनीति अर्थात् राजनीति नै स्वस्थ हुन नसकेकाले समाज पनि स्वस्थ हुन सकेको छैन ।


ADVERTISEMENT


भ्रष्ट र नष्ट, पात्र र प्रवृत्ति


ADVERTISEMENT

# # #


विश्वप्रकाश शर्माजस्ता राजनीतिकर्मी पनि यो देशमा छन् । उनीप्रति धेरै मानिसको श्रद्धा र विश्वाश छ । हिजो झापा आइपुगेपछि एकजना पाका व्यक्तिले विश्वप्रकाशजीको बारेमा टिप्पणी गर्दै भने– विश्वप्रकाश भ्रष्ट चाहिँ बन्न सक्दैनन् । उनको कुरामा मैले थपें– विश्वप्रकाश भ्रष्ट नबने पनि नष्ट हुन सक्छन् । किन त्यसो भनें मैले रु माछाहरुमा राम्रोलाई जलकपुर भनिन्छ । जलकपुरलाई हिले माछाको पोखरीमा हालेर हुन्छ रु विश्वप्रकाश हिले माछाको पोखरीमा हालिएको जलकपुर हो । उनले आफ्नो वरिपरिको भाग सफा गरिरहेका छन् तर पोखरी नै सफा गर्न सम्भव छैन । विश्वप्रकाश जस्ताहरुलाई हामी सबैले भन्नुपर्यो– तपाईं जहाँ हुनुहुन्छ त्यो हिले पोखरी सफा गर्न तीस वर्ष प्रयास गर्नुभयो, बाँकी जीवनको अरु तीस वर्ष प्रयास गरे पनि सफा हुँदैन ।

तपाईं हामीले यति दुख पाइसक्यौं, असल पात्र र असल ठाउँ छनौट गर्न सक्दैनौं भने भावी पुस्ताले पनि दुख पाउनेछ । विपन्नहरुलाई माथि उठाउने काम समाजका पढेलेखेकाहरुको हो । यति ठूलो स्वास्थ्य महोत्सव विपन्न आफैले गर्न सक्दैनन् त्यसैले तपाईंहरु अगाडि सर्नुभयो । दुर्भाग्यको कुरा के हो भने विश्वप्रकाशजी जस्ता मानिसहरुले सिंगो देशका लागि स्वास्थ्य महोत्सव गर्नुपर्नेमा झापाको यो सानो ठाउँमा महोत्सव गर्नुपर्यो । सिंगो देश निर्माणमा विश्वप्रकाश जस्ता मानिसले खोजेको भूमिकामा उहाँहरु सफल हुन धेरै गाह्रो छ । किनभने फोहोरको स्रोतमा बसेर सफाको अपेक्षा गर्नुको अर्थ हुन्न ।

यसमा पात्रको समस्या कि प्रवृत्तिको रु प्रवृत्ति कसले निर्माण गर्छ रु पात्रले होइन र रु पात्र नै ठिक छैनन् भने त्यो पात्रले निर्माण गर्ने प्रवृत्ति ठिक हुन सक्दैन । त्यसैले नेपालमा हरेक संस्थाहरु कमजोर हुँदै गएका छन् । हामी पात्रहरु ठिक छैनौं । हामी मञ्चबाट आदर्शको कुरा गछौं तर मञ्चबाट ओर्लिएपछि यो देश हाम्रो हो र हामीले जे गर्छौं देशका लागि गर्नुपर्छ भनेर थोरै मानिसले मात्र सोच्छौं । सिर्फ आफ्नो बारेमा सोच्छौं । यो हामी अधिकांश व्यक्ति र परिवारको चरित्र हो ।

पढेलेखेकाले बिगारे

हेर्नुस्, यो देश पढेलेखेका मानिसले बिगारेका हुन् । झापाको गाउँमा हलो जोतेर खेति गर्ने या मजदूरी गरेर बसेका अथवा यहाँ साधारण निर्वाहमुखी काम गरेर बसिरहेका मानिसले देश बिगारेका होइनन् । पढेलेखेका र निर्णायक ठाउँमा बसेकाहरुले नै हो देश बिगारेको । त्यसकारण पात्र असाध्यै महत्वपूर्ण हुन्छ । पात्र असल हुन आवश्यक छ ।

मैले महशुस गर्दै गरेको कुरा के हो भने राजनीतिलाई असल भनिएका मानिसहरुले सुधार्न प्रयास नगर्ने हो भने सबै जनता शारीरीक, मानसिक र मनोवैज्ञानिक रुपमा विरामी बनिरहनेछन् र आउँदो धेरै वर्षसम्म विरामी नै रहिरहने छन् ।
आफ्नै खुट्टामा उभिने आयार्जनको व्यवस्था नहुनेले पूर्णकालीन राजनीति गर्न हुँदैन । आफ्नो आयआर्जन सुनिश्चित नगरी पूर्णकालीन राजनीति गर्यो भने त्यो व्यक्ति भ्रष्ट हुने र नेताहरुको अगाडिपछाडि लागेर चाकडि गर्ने बाहेक विकल्प छैन ।

यो देशमा यस्तो प्रवृत्ति भइसक्यो कि हरेक नागरिक कुनै न कुनै राजनीतिक दलमा आवद्ध भएको घोषणा गर्दा उसले गर्व गर्छ । कुनै पनि सुसंस्कृत राजनीति भएको देशमा अधिकांश नागरिक स्वतन्त्र हुन्छन् । उनीहरुले गुणदोषको आधारमा भोट दिन्छन्, कुनै दलप्रति प्रतिवद्ध नागरिक थोरै मात्र हुन्छन् । चलायमान मतदाताले राम्रो दल छानेर भोट दिन्छन् ।

चेतना र उत्तेजना

हाकाहाकी मध्य दिनको घाममा डनहरुलाई टीका लगाएर नेताहरुले आफ्नो पार्टी प्रवेश गराउँछन् । यस्ता नेताहरुले देश बनाउँछन् भनेर पत्याउनुहुन्छ रु त्यस्ता नेताहरुले देश बनाउँछन् भन्नुहुन्छ भने मलाई माफ गर्नुहोला, तपाईंहरु भ्रममा हुनुहुन्छ । खराब पात्रहरुको बीचमा बसेर प्रवृत्ति सुधार्न सकिन्छ भन्ने भ्रममा नपरौं ।

अहिले गाउँगाउँमा चेतनाको नाममा उत्तेजना फैलाइएको छ । हामीले अधिकार पायौं भनेर गर्व गरेर बसेका छौं । शिक्षकलाई कालोमोसो दल्नु चेतना होइन । चौबाटोमा दसजनाले लठ्ठी बोकेर यातायात रोक्नु चेतना होइन । दसजना सांसदले संसद वैठकमा कुर्सीले हान्नु र वेल घेराउ गर्नु चेतना होइन । राष्ट्र बैंकका गभर्नरलाई ताला लगाएर थुन्नु चेतना होइन । गलत काम गर्नुलाई नै चेतना हो भन्ने भ्रममा नबसौं । चेतना र उत्तेजनालाई एकै नठानौं । अधिकार र विकासलाई सँगसँगै लग्न सकिएन भने न अधिकार स्थापित हुन्छ न विकास सम्भाव हुन्छ ।

हामीले खोजेको अधिकार पायौं होला तर चेतना सँगसँगै उत्तेजना पनि बढायो । अब उत्तेजना घटाउने काम यी दलहरुले गर्न सक्दैनन् । अहिले भएका दलहरुलाई सुधार्न प्रयास गर्यौं भने हामीले आफ्नो जीवनकालमा परिवर्तन र विकास देख्न सम्भव छैन ।

इथियोपियाको उदाहरण

कतिपय राजनीतिकर्मीहरुले भन्ने गरेका छन्– यूरोप विकास हुन दुई तीनसय वर्ष लाग्यो । तर, अब हामी दुईतीनसय वर्ष पर्खन सक्दैनौं । अहिलेको विश्वमा बीसतीस वर्षमा देशले विकासको फड्को मारेको धेरै उदाहरण छन् । इथियोपियाकै उदाहरण हेरौं । द्वन्द्व, भ्रष्टाचार र गरिबीको पर्यायका रुपमा हामीले चिनेको इथियोपिया अहिले दस प्रतिशतको हाराहारीमा तिब्र आर्थिक बिकास गरिरहेको छ । इथियोपियाली एअरलाइन्स अफ्रिकाको सबैभन्दा सफल एअरलाइन्स हो । असीवटा बोइङ छ, पचास वटा थप्दैछ ।

केही दशक अघिसम्म नेपाल जत्तिकै प्रतिव्यक्ति आय भएको दक्षिण कोरियाको प्रतिव्यक्ति आय ३१ हजार डलर पुगिसक्यो, हाम्रो सातसय डलर भन्दा थोरै छ । २५ वर्ष बीचमा चीनले यूरोपको जनसंख्या जतिलाई गरिबीको रेखाभन्दा माथि लगिसक्यो । यो पचास साठी वर्ष बीचमा सिंगापुर कहाँबाट कहाँ पुगिसक्यो । सिंगापुर स्थापना हुँदा त्यो देश रहन्छ कि रहँदैन भन्ने थियो, अहिले अमेरिकाको भन्दा धेरै प्रतिव्यक्ति आय भइसक्यो ।

भूपरिवेष्ठित इथियोपियाले गर्न सक्छ भने हामीले किन सक्दैनौं रु तर, यिनै दलहरुको हातबाट नेपाल बनाउन सकिँदैन । यो देश अहिलेकै नेताहरुले बनाउँछन्, यी नेताहरुलाई दवाब दिएरै बस्नुपर्छ भन्नुहुन्छ भने म असहमत छु । कोही न कोही, कहिँ न कहिँबाट अवश्य निस्कन्छन् र देश बनाउन अघि सर्छ । त्यसरी निस्किएका उदाहरण संसारमा धेरै छन् । अब नागरिकहरुले पार्टीभन्दा माथि उठेर सोंच्नैपर्छ । होइन भने तपाईं पार्टीमा लागेकाहरु बदलिनुहोला तर देश बदलिनेवाला छैन ।

वर्तमानका पार्टीहरुलाई तिमीहरु सुध्र, सुध्रँदैनौं भने तिमीहरु सकिन्छौ, तिमीहरुको अस्तित्व समाप्त हुन्छ भन्ने नयाँ शक्ति जरुर अगाडि आउनेछ ।

(झापाको मेचीनगरमा सम्पन्न प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सवमा पत्रकार मिश्रले व्यक्त गरेको विचारको सम्पादित अंश)

Source : http://rabindramishra.com