काठमाडौँ – यमपञ्चकको पहिलो दिन कात्तिक कृष्ण त्रयोदशीका दिन शनिबार काग पूजा गरी मनाइँदैछ । यसै दिनदेखि पाँच दिनसम्म यमराज मत्र्यलोकको विचरणमा रहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।


ADVERTISEMENT


यो दिन कागलाई भोजन गराउँदा पितृले सोझै पाउँछन् भनिन्छ । कागलाई यमदूत मानिएको छ । काग धुरीमा कराउँदा, कागले मैथुन गरेको देखेमा अशुभ रहन्छ भन्ने ज्योतिषीय मान्यता रहेको ज्योतिषी डा. सुनिल सिटौला बताउनुहुन्छ । सत्ययुगमा अमृतपान गरेका हुनाले काग अजम्बरी चरा मानिन्छ । त्यो बेलामा देवता वर्गले एकअर्कासँग सञ्चार गर्न कागकै प्रयोग गर्ने गरेको किंवदन्ती छ । मानवको विकाससँगै धर्तीमा विचरण गरेको प्राणी पनि काग हो भन्ने लोकोक्ति छ ।


ADVERTISEMENT

# # #


चराविद् डा। हेमसागर बरालले भन्नुभयो, “काग घर नजिक बसे पनि वनमा बसे पनि मानिसको साथी हो, मानिसले फालेका फोहर खाएर वातावरण सफा पार्ने, रोगव्याधीबाट मानिसलाई बचाउने, भूकम्प, बाढीपहिरो, बाघ, भालु, सर्पजस्ता मानिसका लागि खतरनाक जीवका बारेमा कराएर जानकारी दिँदै सचेत गराउँछ । ”

चरा प्रजातिलाई गीतारु र विरुत वर्गमा विभाजन गरिएको छ । त्यसमध्ये स्वर सुरिलो नभए पनि काग गीतारु अर्थात् गीत गाउने वर्गमा पर्छ । गीत नगाउने वर्गमा चील, गरुड, बकुल्ला, जलहाँस, परेवा, सुगालगायतका चरा पर्छन् ।

उहाँका अनुसार बुद्धि भएका प्राणीमध्ये कागलाई मानिस र बाँदर प्रजातिपछिको चरा मानिन्छ । यसका बारेमा वैज्ञानिकहरूले गरेको प्रयोगमा कागले मानिसले झैँ दिमाग लगाएर काम गर्न सक्छ । कागको दिमागी क्षमता भने उच्च रहेको वैज्ञानिकहरू उल्लेख गर्छन् ।

बरालले थप्नुभयो, “कतिसम्म भने कुनै कागलाई मानिसले मारेकोे देखेमा समूह मिलेर खेद्छ, एक पटक हैन पटक पटक खेद्छ । त्यो मासिनलाई उसले झन्डै छ वर्षसम्म पनि बिर्सन्न । ”

कागले गन्ती गर्ने, आफ्नो सहजताका लागि भौतिक वस्तु उपयोग गर्ने, प्रतिकार गर्ने समूहमा सहकार्य गर्ने क्षमता राख्छ । काग चरामध्येकै बाठो भएकाले पनि यो मानिसको सहायक बन्न सकेको कथन उहाँको छ ।