काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन अजरबैजानको बाकु पुगेका प्रधानमन्त्री ओली सम्मेलन सकाएर आज स्वदेश आइपुगेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओली कतार एयरवेजको नियमित उडानमार्फत दोहा हुँदै आइतबार बिहान १०ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेललगायतले स्वागत गरेका थिए । सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो ।

प्रधानमन्त्री ओली गत बिहीबार पत्नी राधिका शाक्यसँगै प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईलगायत २१ सदस्यीय टोलीको नेतृत्व गर्दै बाकु प्रस्थान गरेका थिए ।

सम्मेलनको दौरानमा उनले विभिन्न सत्रहरूमा सम्बोधन गर्नुका साथै विभिन्न देशका राष्ट्रध्यक्ष एवं राष्ट्र प्रमुखहरूसँग भेटवार्ता गरेका थिए ।

विश्वका विभिन्न देशहरूले असंलग्न परराष्ट्रनीति अंगाल्दै आइरहेका छन् । यस्तो नीति अगाँल्दै आएका नेपाललगायतका देशहरू संगठित हुँदै गतिविधि सञ्चालन गर्दै आइरहेका छन् । यस वर्षको शिखर सम्मेलन पनि फलदायी भएका असंलग्न नीति अगाल्दै आएका राष्ट्रहरूको भनाइ छ ।