गोविन्द ढकाल : प्रमुख कार्यकारी अधिकृत (सीईओ), गरिमा विकास बैँक


ADVERTISEMENT


गरिमा विकास बैँकले आफ्नो १३ औँ वार्षिकोत्सव मनाउँदैछ । सुरुदेखिको यात्रालाई कसरी सम्झिनुहुन्छ ?


ADVERTISEMENT

# # #


हाम्रो यात्रामा धेरै उतारचढावहरु आएका छन् । राजनीतिक उतारचढावले यस क्षेत्रलाई पनि प्रभाव पारेको छ । कतिपय नीति नियमहरु, तरलताका कुराहरुले असर गरिरहेका थिए र अहिले पनि छन् । त्यो हुँदाहुँदै पनि हामीले सुरुवात गर्‍यौँ । वि.सं २०६४ सालमा सुरुवात गरेका हामी मंसिर ७ गते १३ औँ वार्षिकोत्सव मनाउँदैछौँ । यो बीचमा हाम्रो कर्जामा लगायतका धेरै कुराहरुमा समस्या देखिन्छ । तर, हामीले सफलतापूर्वक त्यो समस्यालाई समाधान गरेका छौँ । नियमनकारी निकायका निर्देशनहरु पालना गर्दै हामी यो स्थितिमा आएका छौँ । यसले गर्दा मलाई लाग्छ भोलिको दिन अझ राम्रो छ । हिजाका दिनमा हामीले जुन किसिमका अप्ठ्याराहरु ब्यहोर्‍यौँ, भोलिका दिनमा ती अप्ठ्याराहरु भोग्नुपर्छ जस्तो मलाई लाग्दैन ।  विगत १३ वर्षदेखिको बैँकको यात्रामा कामका अप्ठ्याराहरु आफ्ना ठाउँमा छन् होला । तर, सबैको सद्भाव, समर्थन, ग्राहकको बैँकप्रतिको माया र हाम्रो सेवाको गुणस्तरले गर्दा नै हामीलाई यो स्थानमा ल्याइपुर्‍याएको हो ।

गरिमा विकास बैँकले पछिल्लो गतिविधि कसरी अगाडि बढाएको छ ?

मैँले पहिले पनि भनेको थिएँ कि हामीले गत वर्ष शाखा विस्तारमा जोड दिएका थियौँ । अहिले झण्डै ९१ वटा शाखाहरु सञ्चालनमा आइसकेका छन् । अबको हाम्रो योजना भनेको व्यापारलाई बढाउने हो । बैकिङ्ग सेवा नपुगेका ठाउँमा सेवा पुर्याउने र सेवाको गुणस्तर बढाउने र बैँकप्रति अपनत्व बढाउने हाम्रो योजना हो ।

गरिमाले गत आर्थिक वर्षमा उल्लेख्य नाफा बढाएको यो के कारणले सम्भव भएको हो ?

नाफा अघिल्लो वर्षको भन्दा यो वर्षको २१ प्रतिशतले बढेको छ । नाफा बढ्ने बित्तिकै कर्जा लिने हाम्रो ग्राहकलाई ब्याजदर बढी दिएर अरुलाई नदिएर नाफा बढ्यो भन्ने अर्थ लाग्न पनि सक्छ । तर, व्यापारलाई बढाएको कारण हाम्रो नाफा बढी भएको हो । हाम्रो ‘स्प्रेड रेट’ नेपाल राष्ट्र बैँकले तोकेको परिधिभित्र छ । कुनैपनि ग्राहकलाई हामीले ब्याजदरमा तलमाथि गरेको छैन । थोरै बिक्री गरेर धेरै नाफा खाने भन्दापनि धेरै बिक्री गरेर थोरै नाफा खाने भन्ने सिद्धान्त अनुसार हामी अगाडि बढेका छौँ । व्यापार बढेसंगै नाफा पनि बढेको अवस्था हो । तर, हामी नाफालाई ध्यानमा राख्ने भन्दा पनि कार्यक्रम विस्तार गर्ने र व्यापार बढाउने अभियानमा रहेकाले नाफा भएको हो । त्यसमा सञ्चालन खर्चलाई केही नियन्त्रण गर्नुपर्छ भनेर हामीले केही शीर्षकहरु थोरै घटाएका छौँ । यसले पनि केही सहयोग गरेको हो ।

बैँकको अहिलेको प्रमुख प्राथमिकता भनेको के हो ? 

सबैभन्दा पहिले प्राथमिकता भनेको हाम्रो सेवालाई अझ गुणस्तरीय बनाउँदै व्यापारलाई बढाउने नै हो । बैँकको सेवाभन्दा बाहिर रहेकाहरुलाई लक्षित गरेर पनि हामी अगाडि बढेको अवस्था छ । कुनै अर्को बैँकमा रहेको ‘लोन’लाई ‘स्वाब’ गरेर आफ्नो व्यापार बढाउने भन्दा पनि जो मान्छे सहकारी आवद्ध छ, जो मान्छे वित्तीय संस्थाभन्दा बाहिर छ वा व्यक्तिसंग पैसा लिएर कारोबार गरेको छ त्यस्ता व्यक्तिहरुलाई बैँकको च्यानलभित्र ल्याएर ग्राहकलाई कर्जा प्रदान गर्ने वा डिपोजिट लिने र अर्को कुरा नेपाल सरकारले ल्याएका कृषि लगायतका कर्जाहरुमा पनि हामीले लगानी गरेको अवस्था छ । जस्तै तराई क्षेत्रका जिल्लाहरुमा हाम्रो कृषि कर्जामा बढी गएको छ । यस्ता कुरामा हाम्रो ध्यान बढी छ ।

अन्य विकास बैँकभन्दा गरिमा विकास बैँक कसरी फरक छ ?

गरिमा र अन्य बैँक तथा वित्तीय संस्थाहरुको लगभग उद्देश्य एउटै छ । पैसा किन्ने, पैसा बच्ने काम हो । त्यसमा दुईमत छैन । तर, हामीले फरक के दिनुपर्छ भन्दाखेरि सबैभन्दा पहिले ठाउँ सुहाउँदो र ग्राहकलाई उपयुक्त प्रोडक्ट र सेवा दिने हो । अन्य कमर्सियल बैँकले दिने सेवाहरु डेबिटकार्ड, आइपीएस, इन्टरनेटदेखि स्मार्ट बैंकिङ्गसम्म हामीले पनि दिएका छौँ । गरिमा रेमिट पनि हामीले सञ्चालन गरेका छौँ । एउटा ग्राहक हाम्रोमा छिरिसकेपछि कुनैपनि बैँकिङ्ग सेवाहरुका लागि अर्को बैँकमा जानु परेन ।

दोस्रो हामीले हाम्रा कर्मचारीलाई सरल र सहज किसिमले सेवा दिनुपर्छ र पारिवारिक वातावरणमा तपाईहरुले सेवा वितरण गर्नुहोस् भनेर हामीले लगनशील र प्रशिक्षित गराएका छौँ । अन्य बैँकमा ब्याजदर तलमाथि भइरहेको अवस्थामा पनि हामीले समान ब्याजदर कायम गर्‍यौँ । अर्को कुरा भनेको हाम्रो शाखा सञ्जाल नै हो । जुन मेचीदेखि महाकालीसम्म फैलिएको छ । ४० वटा जिल्लामा हामी पुगेपनि सातवटै प्रदेशमा हाम्रा कार्यलयहरु स्थापना भइसकेका छन् । अब हिमाली जिल्ला जाने हाम्रो लक्ष्य छ ।

नेपालको बैँकिङ्ग क्षेत्रमा विकास बैँकहरुको भूमिका के छ ? कसरी सञ्चालन भइरहेका छन् ?

मर्जरको कुरा आएपछि कतिपय विकास बैँकमा अस्थिरता आएको पनि देखिएकोछ । जुन कमर्सियल बैँकको संख्या घटाउनुपर्छ भनेर आएको नेपाल सरकार र राष्ट्र बैँकको नीति हो । जुन अहिलेसम्म त्यती सफल हुन सकेको छैन । दुईचारवटा कमर्सियल बैँकको बीचमा मात्रै मर्जरको कुरा आएका छन् । त्यो बाहेकर हिजो ९० वटा विकास बैँकहरु थिए अहिले ३०–४० मा झरिसकेका छन् । ग्राहकहरु अहिले सिधै कमर्सियल बैँकमा जान डराइरहेका छन् । त्यो कारण के हो मैँले बुझ्न सकेको छैन । तर, विकास बैँकमा जसरी मान्छेहरु सजिलै सुविधाहरु लिन सकिरहेका छन्, कमर्सियलमा त्यो किसिमको वातावरण नभएको हामीले देखेका छौँ । अर्को कुरा विकास बैँकले ग्रासरुटलाई समेत समेटेको हुन्छ । बैँकमा आवद्ध नभएका मान्छेहरुलाई बैँकिङ्ग पहुँचमा ल्याउन कमर्सियल बैँक भन्दा पनि विकास बैँकहरुले महत्वपूर्ण भूमिका खेलेका छन् । नेपालजस्तो दुर्गम क्षेत्र भएको ठाउँमा विकास बैँकको आवश्यकता रहन्छ । कुनाकुनामा विकास बैँक खुलेपछि अहिले कमर्सियल बैँकपनि पुग्न थालेका छन् ।

आमजनतालाई विकास बैँकमै जानुपर्छ भन्नका लागि कसरी आकर्षित गर्न सकिन्छ ?

पहिलो कुरा त विकास बैँकका कर्मचारीहरु सरल छन् । हाम्रो मात्र होइन, अन्य बैँकको बारेमा पनि म जानकार छु । केहीको तलमाथि होला, तर वाणिज्य बैँकको तुलनामा उहाँहरुले उत्कृष्ट सेवा दिनुभएको छ । कमर्सियल बैँकहरुले दिने वर्ग र विकास बैँकले दिने वर्गमा थोरै भिन्नता छ । त्यो वर्गको बाहुल्यतामा मध्यमस्तरको बाहुल्यता बढी छ । विकास बैँकले तीनवटै वर्गलाई समेटेको अवस्था छ । निम्न वर्गदेखि उच्चवर्ग सबैलाई हामीले त्यही किसिमको सेवा प्रदान गरेका छाँ ।  त्यसकारणले विकास बैँकमा गएरमात्रै सबै समस्या समाधान हुन्छ वा आर्थिक माग पूरा हुन्छ भन्ने होइन । बैँकिङ्ग पहुँचमा नभएका मानिसहरुको पहिलो कारोबार विकास बैँकमा हुन्छ । अहिले पनि ४० प्रतिशत मानिसहरु बैँकको पहुँचभन्दा बाहिर रहेको अवस्था छ । त्यो ४० प्रतिशतलाई पनि हामीले बैँकिङ्ग पहुँचमा ल्याउनुपर्छ । त्यसमा विकास बैँकले महत्वपूर्ण भूमिका खेलेको अवस्था छ । विकास बैँकको सेवा त्यहाँ छिरेपछि मात्रै थाहा हुन्छ ।

यो १३ वर्षे बैँकको अनुभवले अबको अर्जुनदृष्टि के के देखेको छ ?

मैँले अघि पनि भनेँ, यो वर्ष हाम्रो ध्यान व्यापार बढाउने हो । अर्को वर्ष के गर्ने भन्ने कुरा नियमनकारी निकायले ल्याउने परिवर्तनले पनि फरक पार्छ । हामी गरिमा विकास बैँकलाई अझ बलियो र गुणस्तरीय बनाउँछौँ । नेपालमा गरिमा विकास बैँकको गरिमा र छवि कायम राखीराख्ने गरी हामी अगाडि बढ्छौँ ।

अन्तिममा, आफ्ना ग्राहक र बैँकका कर्मचारीहरुका लागि  के भन्नुहन्छ ?

हामी मंसिर ७ गते १३ औँ वार्षिकोत्सव मनाउँदैछौँ । यो बीचमा हाम्रो वृद्धिको हिसाबले, शाखा विस्तारको हिसाबले र गुणस्तरीय सेवाका हिसाबले हामी उत्कृष्ट रुपमा आउन सफल भयौँ । यसका लागि हामीसंग आवद्ध ग्राहक, शेयरधनी, सञ्चारजगत, निकमनकारी निकाय सबैलाई म धन्यवाद दिन चाहन्छु । आगामी दिनमा कमीकमजोरीहरु औँल्याइदिएर हाम्रो सेवालाई अझ उत्कृष्ट बनाउनका लागि सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

गरिमा विकास बैँकलाई माया त गर्नुहुन्छ साथै म विकास बैँक एशोसिएयनको नाताले के भन्न चाहन्छु भने सेवा विकास बैँकहरुमा राम्रो पाइन्छ । कमर्सियल बैँकहरुले पनि राम्रो गर्नुभएको छ । यसमा कुनै कमेन्ट छैन । तर, हामी अझ राम्रो गरिरहेका छौँ र गर्ने तयारीमा छौँ । त्यसकारण विकास बैँकहरुलाई अझ उत्कृष्ट सेवा प्रवाह गर्ने मौका दिनुहुन्छ भन्ने विश्वास व्यक्त गर्दछु ।