काठमाडौं – नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्शा तयार गरी सार्वजनिक गरेको हो । नक्शा तयार गरेको विधिबारे जानकारी दिदै अभियानका प्रा.डा. नरेन्द्र राज खनालले विज्ञका हिसाबले नदीको रखांकन गरिएको बताए । उनले भने, ‘डिजीटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं ।’


ADVERTISEMENT

# # #


उनले नक्शा बनाउँदा काली नदीको मुहानबारे प्रष्ट पारिएको बताए । सीमा बचाऊ अभियानको नक्शा समितिका विज्ञ कोमल चन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्शा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए ।

नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्शाबारे घर घरमा चर्चा हुनुपर्ने बताए । ‘हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो ।’ उनले भने, ‘सार्वजनिक गरिएको नक्शा सुगौली सन्धी अनुसार नै रहेको छ ।’ भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाई थियो ।

नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्शा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिए । उनले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाए ।

पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गन नक्सा सार्वजनिक गर्नुपर्नेमा गरिएकोमा खुशी व्यक्त गरे ।

पूर्व सचिव तथा अभियानकर्ता डा. द्वारिकानाथ ढुंगेलले तयार पारिएको नक्शा नेपाल सरकारसम्म पुर्याउने जानकारी दिए । संयुक्तराष्ट्रसंघसम्म नक्शा पुर्याउनेबारे विचार गरिएको उनको भनाई थियो ।