नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सार्वजनिक संस्थानमध्येको एक दूग्ध विकास संस्थान(डीडीसी)मा भर्खरै नयाँ नेतृत्व आएको छ । दूध तथा दूग्धजन्य पदार्थको उत्पादन तथा बिक्री वतरणका लागि गठन गरिएको यस संस्थानले नेपाली उपभोक्तालाई माग अनुसारको गुणस्तरीय पदार्थ पूर्ती गराउँदै आएको छ । नेपाल कृर्षिप्रधान देश भएपनि आधुनिक कृर्षि प्रणालीको विकास हुन नसक्दा आत्मनिर्भर हुन सकिरहेको छैन । दूध तथा दूग्धजन्य पदार्थमा आत्मनिर्भर हुन अब के गर्नु पर्छ ? डीडीसीबाट उत्पादित पदार्थहरु कत्तिको गुणस्तरीय छन् ? दूग्ध विकास संस्थानको विकासका लागि अबको नेतृत्वका योजनाहरु के-के छन् ? नेपाली बजारमा दूध तथा दूग्धजन्य पदार्थको माग र आपुर्तीको अवस्था कस्तो छ ? लगायतको विषयमा दूग्ध विकास संस्थानका अध्यक्ष रघुनाथ गौतमसंग हिमालयपोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


डीडीसीमा नयाँ नेतृत्वको रुपमा आउनु भएको छ । कार्यकाल कसरी सुरु भइरहेको छ ?


ADVERTISEMENT

# # #


दूग्ध विकास संस्थानमा करिब २ महिना अघिदेखि नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले मलाई अध्यक्षको जिम्मेवारी दिएको छ । यो संस्थानलाई अगाडी बढाउनका निमित्त लामो समयदेखि संस्थानमा रहेका चुनौति र समस्याहरुलाई समाधान गर्नका लागि म अहिले लागि राखेको छु । सबै भन्दा पहिले कुनैपनि चिजलाई बदल्नका लागि त्यसको बारेमा बुझ्न जरुरी छ । नयाँ ढाँचामा अगाडी लैजानका लागि त्यसभित्र के कस्ता समस्या र चुनौतिहरु छन् भनेर अध्ययन गर्नुपर्छ । त्यसैले म अहिले त्यो अध्यनको चरणमा छु ।

तपाईले बुझे अनुसार नेपालमा दूग्ध विकास संस्थानको गठनको माग वा आवश्यकता किन रहेछ ? यसलाई अब कुन हिसाबले अगाडी लैजानु पर्छ ?

खासगरी नेपालमा संस्थानहरुको स्थापना र विकासमा लामो इतिहास छ । प्रजातन्त्रको प्राप्ती पछाडी राज्यले खास खास क्षेत्रमा जनताका अधिकारहरु सुनिश्चित गर्नु पर्छ भन्ने हिसाबले यस्ता संस्थानहरु निर्माण भएका हुन् । दूग्ध विकास संस्थानको हकमा दूध र दग्धजन्य पदार्थहरु जनताको आधारभूत आवश्यकता भएकाले स्वस्थ र गुणस्तरीय पदार्थ जनताले उपभोग गर्न पाउन भन्ने हिसाबले यसको स्थापना भएको हो । नेपालका ७/८ वटा सार्वजनिक संस्थान मात्र नाफामा छन् । संस्थान गठन गरेर दिएपछि निर्देशन र नियमन गर्ने बाहेक त्यसमा सरकारको जिम्मेवारी हुँदैन । संस्थानमा रहेका साधान र स्रोतहरुकै प्रयोग गरेर यसका कर्मचारीलाई भरपोषण गर्नु पर्ने हुन्छ । आगामी विकास जे जती गर्नु पर्नेछ, त्यो सबै नाफाबाट आएको रकमले गर्नुपर्ने हुन्छ । खुसीको कुरा नै मान्नु पर्छ आजसम्म दूग्ध विकास संस्थान नाफामै छ ।

यहाँले संस्थान नाफामा रहेको कुरा गर्नु भयो । यसको गुणस्तरीयता कत्तिको विश्सनीय छ ? बजार कसरी अगाडी बढीराखेको छ ?

हाम्रो सबैभन्दा ठूलो आयोजना भनेको बालाजु आयोजना हो । त्यसबाट दैनिक एकलाख लिटरभन्दा बढी दूध बिक्री वितरण गरिरहेका छौँ । अन्य दूग्धजन्य पदार्थहरु जस्तो पनिर, घ्यू, मख्खन, रसवरी आदी पनि बिक्री वितरण गरिरहेका छौँ । यसको बजार राम्रै छ । विश्वसनीय भएर नै त बजार बढ्ने हो नि ।

तरपनि दूधको गुणस्तर नियन्त्रण गर्ने हाम्रा निश्चित इकाईहरु पनि छन् । नेपाल सरकार आपूर्तीमन्त्रालय अन्तर्गतको इकाई छ । कृर्षि मन्त्रालय अन्तर्गतको गुण नियन्त्रणको इकाई छ । ती इकाईहरु मार्फत डेरीका दूधहरुलाई पनि गुणस्तरीय दूध बनाउनका निम्ती घच्घच्याउने काम गरिरहेका छौँ । हामीले पनि गुणस्तरीयतामा अझै सुधार गरेर जाने र त्यसका लागि प्रविधिको प्रयोग गर्ने योजनामा छौँ । दूधको गुणस्तरीयता मापन गर्नका लागि हामीले ‘मिल्क स्क्यानर’ मेसिन ल्याउँदैछौँ । त्यसले मिसावट तत्वहरु तथा समग्र रुपमा दूधको परिक्षण गर्छ । यसै आर्थिक वर्षमा हामीले बालाजूमा र विराटनगरका आयोजनामा ‘मिल्क स्क्यानर’ ल्याउँदै छौँ ।

दूग्ध विकास संस्थानलाई अझ लोकप्रिय तथा गुणस्तरीय बनाउनका लागि तथा नेपाललाई दूधमा आत्मनिर्भर बनाउनका लागि  तपाईको कार्यकालका आगामी योजनाहरु के-के छन् ?

सबैभन्दा पहिले त मैले यहाँ आउनेबित्तकै कार्ययोजना निर्माण गर्न प्रयत्न गरेको छु । मेरो कार्यावधि भनेको २ वर्षको हो । यो अवधिमा म तथा मेरो नेतृत्वले के गर्न सक्छ ? भनेर एउटा खास योजना निमार्ण गरेको छु । त्यसमा खासगरी संस्थानको आन्तरिक सुधारका कार्यक्रमहरु छन् । केही विस्तार र विकासका कार्यक्रमहरु छन् । देश संघियतामा गएकाले प्रत्येक प्रदेशमा एक/एक आयोजानाहरु निर्माण गर्ने हामीले योजना बनाइरहेका छौँ । अहिले हामीसंग दूग्ध विकास संस्थान अन्तर्गत जम्मा ८ वटा आयोजनाहरु छन् ।

तर ४ नम्बर प्रदेश (भनेको पोखरातिर) हाम्रो आयोजा छैन । त्यसकारण प्रत्येक प्रदेशमा हाम्रा आयोजना निर्माण गर्न प्रयत्न भइरहेकोछ । नेपालमा अहिले ‘मिल्क होलिडे’को समस्या छ । त्यो भनेको एउटा सिजनमा दूध बढी उत्पादन र अर्को सिजनमा कम उत्पादन हुने गर्छ । यो भदौदेखि पुस माघमा दूध बढी उत्पादन हुने भएकाले किसानको दूध बिक्दै नबिक्ने अवस्था छ । फागुन देखि साउन महिना सम्म दूधको उत्पादन कम हुन्छ । एकातिर निजी डेरी र डीडीसीले हाम्रो बिक्री नै छैन भनेर किसानले उत्पादन गरेको दूध बिक्री नै नहुने अवस्था छ अर्कातिर सुख्खा सिजनमा दूध उपलब्ध नभएपछि छिमेकी देश भारतका विभिन्न ठाउँमा गएर दूध खरिद गरेर ल्याउनु पर्ने अवस्था रहेको छ । त्यसकारणको यो समस्याको अन्त्य गर्नका लागि हामीले (फ्रस्ट सिजन) बढी दूध उपलब्ध हुने सिजनमा आएको दुधलाई धूलो दुधमा परिणत गर्नका लागि हामीले पाउडर कारखानाको अहिले निर्माण गरिरहेका छौँ ।

नेपालमा अहिले जम्मा २ वटा पाउडर कारखानमा मात्रै छन् । एउटा पोखरामा सुजल डेरीद्वारा निजी क्षेत्रबाट सञ्चालन भइरहेको छ । अर्को हामीले विराटनगरमा पाउडर कारखाना निर्माण भइरहेको छ । सम्भवतः अबको १०/१५ दिनमा तयो सञ्चालनमा आउँछ । त्यसपछि किसानको दूध धेरै भएको समयमा लिएर त्यसलाई पाउडरमा परिणत गरी सुख्खा सिजनमा पुनः दूधमा परिणत गरेर बजारमा लैजाने गर्ने छ । यसले गर्दा हामी दूधमा आत्मनिर्भर बन्ने बाटो खुल्ला गर्छ । भने किसानलाई अहिले ‘मिल्क होलिडे’ छ तपाईको दूध किन्न सक्दैनौँ भन्ने समस्याको पनि अन्त्य गर्छ ।

र यस पटकको ‘फ्रस्ट सिजन’ देखि किसानले जतीमात्रामा दूध दिएपनि हामी लिन सक्षम हुन्छौँ । यो किसान लक्षित आयोजना पनि हो । त्यस्तै गरेर हाम्रा आयोजनामा अहिले कच्चा दूधलाई नै बिक्री गर्ने चलन छ । त्यसको अन्त्यका लागि उत्पादनमा विविधिकरण ल्याउन खोजिराखेका छौँ । यो भनेको के हो भने, हामी अहिले दूधलाई किनेर दूध बेचिरहेका छौँ । तर अब बढीभन्दा बढी दूधलाई दही, पनिर, मख्खन बनाएर बेच्ने योजनामा छौँ । प्रदेशका आयोजनामा उत्पादनमुखी तथा वातावरण अनुसारका उत्पादन सुरु गर्ने योजनामा छौँ । जस्तौ हिमाली क्षेत्रका आयोजनामा चीजमात्रै उत्पादन गर्ने, विराटनगरका आयोजनामा आइसक्रिम मात्रै उपादन गर्ने, हेटौँडाका आयोजनामा धूलो दूध मात्रै उत्पादन गर्ने योजनामा छौँ ।

नेपाली बजारमा अहिले दूध तथा दूग्धजन्य पदार्थको माग जति मात्रमा छ, त्यो अनुसारको आपूर्तीको अवस्था कस्तो छ ?

यसको बजार हाम्रो मात्रै छैन । नेपाली बजारमा डीडीसीले उत्पादन गरेको दूधमात्र छैन । यसका लागि विभिन्न निजी क्षेत्रहरु पनि सञ्चालनमा छन् । त्यसमा २/३ वटा वर्गहरु जस्तो देखिन्छ । एउटा संस्थागत रुपमा फर्महरु छन् । ती फर्म तथा डेरीहरुले दूधको संकलन र बिक्री वितरण गरिरहेका छन् । केही नाम चलेका दुधहरु छन् । जस्तो सिताराम, सुजल दूधहरु । उहाँहरुले हामीसंग स्वच्छ प्रतिस्पर्धा गरिरहनु भएको छ । नेपाली बजारमा ५० प्रतिशत जती मार्केट डीडीसीबाट उत्पादित पदार्थले ओगटेको छ । बचेको मध्ये करिब ३० प्रतिशत संस्थागत रुपमा ‘लेवल’ भएका कम्पनीहरुले मार्केट लिइरहेका छन् । बाँकी २० प्रतिशत कतिपय साना डेरीहरु जसले संकलन गरेर एउटा प्लास्टिकमा हालेर रबरले बाँधेर बेच्ने गर्नेहरुको बजार छ । तर त्यसमा मिसावटको बारेमा जनतामा सचेतता छैन । प्रशोधन र शुद्धिकरण गरेको दूध मात्रै खाने संस्कार नेपालमा छैन । त्यसकारण म तपाईको माध्यामबाट आम उपभोक्तालाई के आह्वान गन चाहन्छु भने, हामी दूध र दूग्धजन्य पदार्थ मात्र होइन, अरु पदार्थको पनि सेवनगर्दा विचार पुर्याएर सेवन गरौँ । किनभने स्वस्थ्यमा असर भयो भने त्यसको मूल्य चुकाउन हामीलाई धेरै कठिनाई पर्छ ।

यो भनेको उहाँहरुका विरोध गरेको होइन । तर बिक्री वितरण गर्दा प्रशोधन गरेर, शुद्धिकरण गरेर तथा ‘लेवलिङ’ गरेर बजारमा पठाइएको दूध मात्रै हामी सेवन गरौँ । साना डेरीहरुको विरोध होइन । तर मानव स्वास्थ्यलाई गम्भीर खालका असरहरु प्रति उहाँहरु गम्भीर हुनैपर्छ । हामीले उत्पादन गरेका दूध तथा दूग्धजन्य पदार्थमा किटाणु , अखाद्य पदार्थ के छ ? कत्तिको गुणस्तरीय छ भनेर तपाईहरुले जतिबेला पनि नाप्न सक्नुहुन्छ । त्यस्तो नकारात्मक कुराहरु भेटिएमा हामी विरुद्ध उजुरी गर्न सक्नु हुन्छ । तर साना डेरीहरु विरुद्ध त उजुरी गर्न सक्नुहुन्न । किनभने तिनीहरुको रजिष्ट्र्ेसन छैन । यसको जिम्मेवार कसले लिने ? त्यसकारण यसमा सबैले सचेत हुन आवश्यक छ ।

र अर्को भनेको अहिले दूध नपाएर खान पाइएन भन्ने अवस्था छैन । एउटा गम्भीर कुरा के हो भने हामीले कृर्षि प्रदान देश भनेका छौँ । आगामी एक वर्षभित्र अण्डामा आत्मनिर्भर बन्ने भनिरहेको छ । दुई वर्षमा मासुमा आत्मनिर्भर हुने र तीन वर्षभित्र दूधमा आत्मनिर्भर बन्ने भनिरहेका छौँ । तर बिडम्बना म तपाईलाई खुलेर के भन्छु भने आजपनि हामीले ३० हजार लिटर दूध प्रतिदिन हामी भारतबाट खरिद गरिरहेका छौँ । केही सङ्ख्यामा अन्य डेरीले पनि खरिद गर्छन् । समग्रमा ४०-५० लिटर दूध प्रतिदिन भारतबाट खरिद गरिरहेका छौँ । मैले अघि नै भनेँ यो बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्नको निम्ती हामी पाउडर कारखाना सञ्चालन गर्न गइराखेका छौँ । र बजारको माग जति छ त्यसलाई आजसम्म हामी धनिरहेका छौँ ।

दूग्ध क्षेत्रमा मूलुकलाई आत्मनिर्भर बनाउँदै यसको विकास गरेर माग र आपूर्तीको व्यवस्थापनका लागि संस्थानले तथा अन्य क्षेत्र वा निकायसंग कसरी सम्वन्वय गरिरहेको छ ?

नाम यसको दूग्ध विकास संस्थान हो तर यो दूग्ध संकलन र वितरण संस्थान जस्तो भएको छ । दूध उत्पादन वृद्धि गर्न किसानलाई दाना उपलब्ध गराउने, ऋण दिएर डेरी विकास गर्ने अधिकार हामीलाई उपलब्ध छैन । त्यो अधिकार पशुपंक्षी मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरु छन् । दूध सम्बन्धि, दूग्धजन्य पदार्थको उत्पादन र प्रवद्र्धन गर्ने सम्बन्धी निर्णय दूग्ध विकास बोर्डले लिन्छ । त्यस्तै गरेर दूधको उत्पादन, विकास र प्रवद्धनका लागि पशुपंक्षी मत्रालय अन्तर्गतका विभिन्न निर्देशनालयहरु छन् । जस्तो बजार प्रवद्र्धन निर्देशनालय, उत्पादन निर्देशनालय जस्ता विभिन्न निकायहरु छन् । ती निकाय मार्फत नेपाल सरकारले दूध उत्पादन गर्नका लागि भूमिका खेलेको हुन्छ ।

त्यति हुँदाहुँदै पनि किसानहरुलाई बेलाबेलामा विभिन्न अध्ययन, तालिम र भ्रमणका कार्यक्रम हाम्रो सिमित बजेट मार्फ लगिराखेका छौ । किनभने अनुदानको रुपमा नेपाल सरकारले अहिले हामीलाई पैसा दिएको छैन । हामी आत्मनिर्भर छौँ । नाफाको केही रकम हामीले दूधको उत्पादनका लागि खर्च गरिराखेका छौँ ।

अन्त्यमा, अहिले तपाईले दूग्ध विकास संस्थानको नेतृत्व गरिराख्नु भएको छ । आफ्नो कार्यकाल सकिञ्जेलसम्म यस संस्थानलाई कहाँसम्म पुर्याउँछु जस्तो लाग्छ ?

दूग्ध विकास संस्थानलाई जाँदै गर्दासम्म कहाँसम्म पुर्याउने भन्ने जुन प्रश्न छ । संस्थानका कतिपय तौरतरिकारहरु, संरचनाहरु समय अनुकुल छैनन् । दूध संकलन देखि बिक्री वितरणका तरिकाहरु राम्रो छैनन् । व्यापार गर्ने भइसकेपछि व्यापारिक संस्थानको रुपमा विकास गर्ने हो । तर व्यापार गर्ने अनुकुलको छैन । यसका संरचना निर्माण गरेर व्यापार गर्ने संस्थानको रुपमा म निर्माण गर्न चाहान्छु । व्यापारका साथसाथै हाम्रा निश्चित उत्तरदायित्वहरु छन् । किसानप्रति हाम्रो विशेष उत्तरदायित्व छ । म यहाँ आउँदाखेरि किसानले उत्पादन गरेको दूध कहिल्यै खेर जानदिने छैन भनेर प्रतिवद्धता गरेको थिएँ । विगतमा मिल्क होलिडे भनेर किसानले उत्पादन गरेको दूध सडकमा पोख्नु पर्ने अवस्था थियो । अब म मिल्क होलिडे हुन दिने छैन । त्यस्तै उपभोक्ताप्रतिको उत्तरदायित्व छ ।

म यहाँ रहँदासम्म आम उपभोक्तालाई नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दूग्ध विकास संस्थानले उत्पादन गरेको दूग्धजन्य पदार्थ मानव स्वास्थ्यमा हानी गर्दैन भन्ने सामाजिक उत्तरदायित्व पूरा गर्नु पर्नेछ । किसानका हक, अधिकार र समस्यालाई पनि म समाधान गर्छ । त्यस्तै आम उपभोक्ताका खाद्य अधिकारसंग सम्बन्धित विषय म सम्बोधन गर्छु । किसान र उपभोक्तालई म निराश हुन दिन्न ।