इटहरी– पूर्वी नेपालका पहाडी र तराईका केही जिल्लामा स्क्रब टाइफस तथा स्वाइनफ्लुको संक्रमण बढिरहेको पाइएको छ ।


ADVERTISEMENT


यही क्रममा केही दिन अघि पहाडी जिल्ला धनकुटामा स्क्रब टाइफस रोगबाट एक बालिकाको ज्यान गएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


धनकुटा जिल्लामै अन्य तीन जना बिरामीमा पनि यो रोगको जीवाणु देखा परेपछि जिल्लाभर सर्वसाधारणमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ । खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका तथा पाख्रिबास नगरपालिका क्षेत्रमा यो रोग देखापरेको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।

स्क्रब टाइफस रोगबाट धनकुटाको साविक छिन्ताङ–२ की ८ वर्षीया बालिकाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा तीन दिनअघि ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डा नारायण भट्टराईले जानकारी दिए ।

उनका अनुसार धनकुटाकै पाख्रिबास क्षेत्रमा अहिलेसम्म तीन जनामा स्क्रब टाइफस रोग देखा परिसकेको उपचारका क्रममा पत्ता लागेको छ ।

धनकुटा जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएका दुई बालक र एक बालिकामा यो रोगको लक्षण पाइएको अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट तथा जिल्ला स्वास्थ्य प्रमुख डा मदनकुमार उपाध्यायले जानकारी दिए।

स्क्रब टाइफसको लक्षण देखा परेका सबै बिरामीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरी पठाइएको र उनीहरुको उच्च सतर्कताका साथ उपचार भइरहेको पनि प्रतिष्ठानले जानकारी दिएको छ । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले यो रोगबाट उनीहरु बढी प्रभावित हुने खतरा रहने बताइएको छ ।

मुसामा हुने किर्नाले मानिसलाई टोकेपछि उक्त रोग सर्ने प्रतिष्ठानका प्रवक्ता डा भट्टराईले बताए । अत्यधिक ज्वरो आउने, श्वासप्रश्वासको समस्या जस्ता लक्षण देखिएमा तत्काल चिकित्सकसँग सम्पर्क गर्न र अस्पतालमा उपचारार्थ आउने पनि प्रतिष्ठानले सूचित गरेको छ ।

स्क्रब टाइफस र स्वाइनफ्लुबाट संक्रमित हुने रोगी झापा र तराईका अन्य जिल्लामा पनि फैलन सक्ने खतरा रहेका जनाउँदै प्रतिष्ठानले उच्च सतर्कता अपनाउन सबैसँग अपिल गरेको छ । रासस